२०८३ साउन १२ मंगलबार

बर्दिबासमा विवाहित महिलाको शंकास्पद मृत्युपछि तनाव, प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो

ई आर्थिक    शनिबार, जेष्ठ ३० २०८३
1.8K
Shares
बर्दिबासमा विवाहित महिलाको शंकास्पद मृत्युपछि तनाव, प्रहरीले अश्रुग्यास प्रहार गर्‍यो

बर्दिबास : महोत्तरीको बर्दिबास नगरपालिका–१२ स्थित विजलपुरा डाँडाटोलमा एक विवाहित महिलाको शंकास्पद मृत्युको घटनापछि उत्पन्न तनाव नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। शुक्रबार रातिदेखि तनावग्रस्त बनेको क्षेत्र शनिबार बिहान थप उग्र बनेपछि प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको हो।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार घटनास्थलमा तोडफोड तथा अराजक गतिविधि बढेपछि बिहान करिब १० बजे प्रहरीले अश्रुग्यास प्रयोग गर्नुपरेको थियो। उहाँले हाल अवस्था तुलनात्मक रूपमा सामान्य भए पनि सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिनुभयो।

अश्रुग्यास प्रहारपछि भीड केही समय तितरबितर भए पनि पुनः जम्मा भएको थियो। भीडको दबाबका कारण प्रहरीले घटनास्थलको मुचुल्का तयार गर्नसमेत कठिनाइ भएको जनाएको छ।

प्रहरीका अनुसार शुक्रबार साँझ करिब ८ बजे डाँडाटोल निवासी शशी सिंहकी २५ वर्षीया श्रीमती रिंकु कुमारी सिंह आफ्नै घरको सुत्ने कोठामा सिलिङ फ्यानमा सलको पासो लगाएको अवस्थामा मृत फेला परेकी थिइन्।

तर मृतकका माइती पक्षले रिंकुको हत्या गरिएको दाबी गर्दै श्रीमान, सासु र ससुरामाथि कर्तव्य ज्यानको आरोप लगाएका छन्। घटनापछि माइती पक्षले दोषीमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन सुरु गरेको थियो।

आक्रोशित भीडले मृतकका ससुरा रामबाबु सिंहको घरमा रहेको कार र स्कुटरमा तोडफोड गर्नुका साथै आगजनी प्रयास गरेको प्रहरीले जनाएको छ। घरमा समेत ढुंगामुढा गरिएको थियो। स्थिति नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि समेत ढुंगामुढा भएको र केही सुरक्षाकर्मी सामान्य घाइते भएको जनाइएको छ।

इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार मृतकका श्रीमान शशी सिंहलाई नियन्त्रणमा लिइएको छ। तर माइती पक्ष र स्थानीयले फरार रहेका सासु र ससुरालाई पक्राउ नगरिएसम्म शव उठाउन तथा मुचुल्का प्रक्रिया अघि बढ्न नदिने अडान लिएका छन्।

घटनाले स्थानीयस्तरमा व्यापक चासो र आक्रोश सिर्जना गरेको छ। स्थानीयले परिवारका अन्य सदस्य फरार भएको विषयलाई शंकास्पद भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन्।

वडाध्यक्ष रामकिशोर साहले घटनाले गम्भीर प्रश्न उठाएको बताउँदै अवस्था सामान्य बनाउन स्थानीय तह, प्रहरी र प्रशासन मिलेर प्रयास गरिरहेको जानकारी दिनुभयो।

स्थानीयका अनुसार मृतक रिंकु कुमारीले लामो समयदेखि मानसिक तथा शारीरिक यातना भोग्दै आएको आरोप छ। श्रीमानले एक वर्षअघि दोस्रो विवाह गरेको र त्यसपछि पारिवारिक विवाद बढ्दै गएको दाबी माइती पक्षले गरेको छ। उनीहरूले यही विवादका कारण हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ भने यस समाचार तयार पार्दासम्म डाँडाटोल क्षेत्रको अवस्था पूर्ण रूपमा सामान्य हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij