२०८३ असोज २ शुक्रबार

सुनकोशी–मरिन डाइभर्सनमा नयाँ टेन्डर, यस्ता छन् कम्पनीका सर्त

ई आर्थिक    सोमबार, जेष्ठ २५ २०८३
1.9K
Shares
सुनकोशी–मरिन डाइभर्सनमा नयाँ टेन्डर, यस्ता छन् कम्पनीका सर्त

काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी निर्माण कार्य सम्पन्न गर्न सरकारले अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको छ।

जलस्रोत तथा सिँचाइ विभागले सोमबार सूचना प्रकाशित गर्दै सिन्धुलीस्थित आयोजनाका अधुरा रहेका सिभिल संरचना, हाइड्रोमेकानिकल उपकरण तथा सम्बन्धित पूर्वाधार निर्माणका लागि योग्य कम्पनीहरूबाट प्रस्ताव माग गरेको जनाएको हो।

यसअघि आयोजना निर्माणको जिम्मा पाएको निर्माण कम्पनीको ठेक्का रद्द भएपछि बाँकी काम सम्पन्न गर्न नयाँ खरिद प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ। ठेक्का ‘एकल चरण–दुई खाम’ प्रणालीमार्फत सञ्चालन हुनेछ, जसअनुसार प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै मूल्याङ्कन गरिनेछ।

बोलपत्र प्रक्रियामा स्वदेशी तथा विदेशी दुवै निर्माण कम्पनीले सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ। विभागले इच्छुक कम्पनीका लागि वित्तीय क्षमतासम्बन्धी मापदण्डसमेत तोकेको छ। सूचनाअनुसार पछिल्लो १० वर्षमध्ये उत्कृष्ट तीन वर्षको औसत वार्षिक निर्माण कारोबार कम्तीमा ४ करोड २१ लाख ८१ हजार अमेरिकी डलर बराबर हुनुपर्नेछ।

सुनकोशी नदीको पानी सुरुङमार्फत मरिन खोलामा स्थानान्तरण गरी मधेशका विभिन्न जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने तथा जलविद्युत उत्पादन गर्ने लक्ष्यसहित यो आयोजना अघि बढाइएको हो। देशका महत्वपूर्ण बहुउद्देश्यीय जलस्रोत परियोजनामध्ये यसलाई विशेष प्राथमिकतामा राखिएको छ।

आयोजनाको मुख्य सुरुङ निर्माण कार्य उल्लेखनीय रूपमा अगाडि बढिसकेको छ। अब बाँकी संरचनात्मक तथा उपकरण जडानका कामलाई तीव्रता दिन नयाँ ठेक्का प्रक्रिया निर्णायक हुने अपेक्षा गरिएको छ।

इच्छुक निर्माण व्यवसायीहरूले तोकिएको विद्युतीय प्रणालीमार्फत वा आयोजनाको कार्यालयमा प्रत्यक्ष रूपमा बोलपत्र पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij