२०८३ भाद्र २८ आइतबार

छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी गुरुङ, पुनः गृहमन्त्री बने दुई महिना बधाई दिन नआउन आग्रह

ई आर्थिक    आइतबार, जेष्ठ २४ २०८३
1.5K
Shares
छानबिन समितिबाट सफाइ पाउनेमा आशावादी  गुरुङ, पुनः गृहमन्त्री बने दुई महिना बधाई दिन नआउन आग्रह

गोरखा ।  पूर्व गृहमन्त्री तथा सुधन गुरुङ ले आफ्नो सम्पत्तिसम्बन्धी उठेका प्रश्नहरूको निष्पक्ष छानबिनका लागि सहजीकरण गर्न मन्त्री पदबाट राजीनामा दिएको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेर काम गर्दा उठेका प्रश्नहरूको जवाफ दिन आफू जिम्मेवार रहेको उल्लेख गरे। उनले छानबिन समितिसमक्ष बयान दिँदै सबै प्रश्नहरूको स्पष्ट र तथ्यगत उत्तर दिएको दाबी गरे।

उनले बयानका क्रममा भएको एक रोचक प्रसंग पनि सुनाए। समितिले आफ्नो सम्पत्तिको स्रोतबारे प्रश्न गर्दा आफूले पनि समितिका सदस्यहरूको सम्पत्तिको छानबिन गर्न सुझाव दिएको भन्दै उनले ठट्यौली शैलीमा प्रतिक्रिया व्यक्त गरेका थिए।

गुरुङका अनुसार छानबिन समितिको प्रतिवेदन हाल प्रधानमन्त्री कार्यालयमा पुगेको छ। उनले आफूले पूर्ण रूपमा सफाइ पाउने विश्वास व्यक्त गर्दै छानबिन प्रक्रियाले सत्य उजागर गर्ने बताए।

सम्बोधनका क्रममा उनले आफू निर्दोष सावित भएमा पुनः गृह मन्त्रालयको जिम्मेवारी पाउने सम्भावनाप्रति संकेत गर्दै अनौठो आग्रह पनि गरे। “यदि सरकारले फेरि गृहमन्त्रीको जिम्मेवारी दियो भने पहिलो दुई महिना मन्त्रालयमा बधाई दिन र तस्बिर खिच्न कोही पनि नआइदिनुहोला,” उनले भने। कामलाई प्राथमिकता दिन यस्तो आग्रह गरेको उनको भनाइ थियो।

पार्टी संगठनको विषयमा बोल्दै गुरुङले अब बन्ने जिल्ला नेतृत्व राजधानी केन्द्रित हुन नहुने धारणा राखे। उनले जिल्ला सभापति जिल्लामै बसेर संगठन विस्तार, जनसम्पर्क र पार्टी गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए। राजधानीमा बसेर जिल्ला नेतृत्व गर्ने प्रवृत्तिले पार्टीलाई दीर्घकालीन रूपमा फाइदा नपुर्‍याउने उनको तर्क थियो।

कार्यक्रममा गुरुङले आफू गृहमन्त्री रहँदा आम नागरिकबाट उल्लेखनीय साथ र सहयोग प्राप्त भएको स्मरण गर्दै निर्वाचनमा आफूलाई विजयी गराउने गोरखावासी मतदाताप्रति आभार व्यक्त गरे। साथै उनले पार्टीका कार्यकर्ता तथा शुभेच्छुकलाई संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij