काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तर्जुमाका लागि सरोकारवाला निकाय तथा सर्वसाधारणसँग राय–सुझाव माग गरेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक वर्ष मौद्रिक नीति तयार गर्ने क्रममा बैंकले सुझाव संकलन गर्ने व्यवस्था अनुसार आर्थिक अनुसन्धान विभागले सूचना प्रकाशित गर्दै असार ५ गतेभित्र आफ्नो राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।
बैंकले मौद्रिक नीतिलाई अझ प्रभावकारी, समयानुकूल तथा अर्थतन्त्रको आवश्यकताअनुसार बनाउन सरोकारवालाहरूको सुझाव महत्त्वपूर्ण हुने जनाएको छ। प्राप्त सुझावहरू आगामी मौद्रिक नीति निर्माण प्रक्रियामा उपयोग गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ।
इच्छुक व्यक्ति तथा संस्थाले आफ्नो राय–सुझाव आर्थिक अनुसन्धान विभाग, बालुवाटारमा पठाउन सक्नेछन्। विभागको सम्पर्क फोन नम्बर ०१–५७१९६४१ रहेको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्र, निजी क्षेत्र, उद्योग–व्यवसायी, अर्थविद् तथा सर्वसाधारणलाई मौद्रिक नीतिसम्बन्धी रचनात्मक सुझाव उपलब्ध गराउन अनुरोध गरेको छ।