तनहुँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाअन्तर्गतको १४० मिटर अग्लो मुख्य बाँध निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार २०८१ चैत ७ गतेदेखि सुरु गरिएको बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट आवश्यक पर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट कार्य सम्पन्न भइसकेको छ।
एक सय ४० मिटर उचाइको उक्त बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रको महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने अपेक्षा गरिएको आयोजनाले जनाएको छ।
आयोजनाको प्याकेज–१ अन्तर्गत बाँध तथा सम्बन्धित संरचना निर्माणको जिम्मा सोङ्दा कालिका जेभीले लिएको छ। यस प्याकेजअन्तर्गत हालसम्म ५९ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
मुख्य बाँध निर्माणका लागि आवश्यक सुरुङसहित अन्य पूर्वाधार संरचनाको निर्माण सम्पन्न भइसकेको छ। साथै बाँध निर्माणलाई सहज बनाउन सेती नदीको पथान्तरण कार्य पूरा गरिएको छ भने बाँधको माथिल्लो तथा तल्लो तटीय क्षेत्रमा निर्माण गरिने अस्थायी बाँध (कफर ड्याम) निर्माणसमेत सम्पन्न भएको आयोजनाले जनाएको छ।
आयोजनाले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न गरी विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको जनाएको छ। आयोजना सम्पन्न भएपछि देशको विद्युत् उत्पादन क्षमता वृद्धि हुनुका साथै ऊर्जा सुरक्षामा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।