२०८३ साउन १२ मंगलबार

आकस्मिक बिरामीलाई मात्र निजी अस्पतालमा स्वास्थ्य बीमा सुविधा, अन्य दाबी भुक्तानी नहुने

ई आर्थिक    मंगलबार, जेष्ठ १९ २०८३
1.4K
Shares
आकस्मिक बिरामीलाई मात्र निजी अस्पतालमा स्वास्थ्य बीमा सुविधा, अन्य दाबी भुक्तानी नहुने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालमार्फत प्रदान गरिने स्वास्थ्य बीमा सेवामा थप कडाइ गरेको छ। बोर्डले आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र स्वास्थ्य बीमाको सुविधा उपलब्ध गराउन निजी स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।

बोर्डले जेठ १८ गते जारी गरेको सूचनामा सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरी स्वास्थ्य बीमाको दाबी पेश गरिए त्यस्ता दाबीहरूको भुक्तानी नहुने स्पष्ट पारेको छ।

सूचनाअनुसार बिरामीको स्वास्थ्य अवस्था वास्तवमै आकस्मिक उपचार आवश्यक पर्ने खालको भए मात्र आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नुपर्नेछ। उपचारका क्रममा बिरामीलाई भर्ना गर्नुपर्ने वा शल्यक्रिया आवश्यक पर्ने अवस्था आएमा प्रचलित उपचार पद्धति अनुसार उपचार गरी डिस्चार्ज गर्न सकिने बोर्डले जनाएको छ।

बोर्डले सर्वसाधारण सेवाग्राहीलाई पनि सूचनाको पूर्ण पालना गर्न आग्रह गर्दै सेवा प्रदायक संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब नदिन अनुरोध गरेको छ।

स्वास्थ्य बीमा बोर्डले बढ्दो वित्तीय संकटलाई कारण देखाउँदै जेठ १६ गतेदेखि अर्को निर्णय नभएसम्म निजी स्वास्थ्य संस्थाबाट प्रदान हुँदै आएको आकस्मिक स्वास्थ्य बीमा सेवा सीमित गरेको थियो।

हाल देशभर ३६ वटा निजी स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएका छन्। तर निजी अस्पतालहरूलाई वर्षौंदेखि दिनुपर्ने अर्बौं रुपैयाँ भुक्तानी रोकिँदा कार्यक्रम गम्भीर आर्थिक संकटमा परेको बताइन्छ। बक्यौता रकम भुक्तानीमा ढिलाइ, प्रशासनिक कमजोरी तथा वित्तीय अव्यवस्थाका कारण सरकारको महत्वाकांक्षी स्वास्थ्य बीमा कार्यक्रम धराशायी हुने जोखिममा पुगेको भन्दै आलोचना बढ्दै गएको छ।

निजी अस्पतालहरूलाई लामो समयदेखि भुक्तानी हुन नसक्दा बोर्ड सेवा कटौती गर्न बाध्य भएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij