काठमाडौै। सुदूरपश्चिमको आर्थिक वृद्धिदर ३.११ प्रतिशत रहने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको स्थलगत तथा गैर–स्थलगत सर्वेक्षण तथा सम्बन्धित निकायबाट प्राप्त विवरणका आधारमा आर्थिक वर्ष २०८२/८३ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ।
प्रतिवेदनले प्रदेशको समष्टिगत अर्थतन्त्रमा सामान्य सुधार देखिए पनि कृषि तथा औद्योगिक क्षेत्रमा चुनौती कायम रहेको संकेत गरेको छ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा सुदूरपश्चिम प्रदेशको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ३.२८ प्रतिशत तथा आधारभूत मूल्यमा ३.११ प्रतिशत रहने अनुमान गरिएको छ। प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक क्षेत्रको योगदान ३३.६५ प्रतिशत, द्वितीय क्षेत्रको १३.६९ प्रतिशत र तृतीय क्षेत्रको ५२.६६ प्रतिशत रहने प्रक्षेपण गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले भने चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले वृद्धि भई ६६ खर्ब रुपैयाँ पुग्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल २.३८ प्रतिशतले घटेको छ भने कुल उत्पादन ४.९४ प्रतिशतले कमी आएको प्रतिवेदनमा उल्लेख छ। खाद्य तथा अन्य बालीको उत्पादन २.०१ प्रतिशत तथा तरकारी र बागवानी उत्पादन २२.४३ प्रतिशतले घटेको छ। यद्यपि फलफूल उत्पादन भने ९.९५ प्रतिशतले बढेको देखिएको छ। पशुजन्य उत्पादनतर्फ दूध उत्पादन २५.११ प्रतिशत, ऊन उत्पादन १०.३४ प्रतिशत र छाला उत्पादन ३.७८ प्रतिशतले बढेको छ। तर मासु उत्पादन ०.१७ प्रतिशत तथा अण्डा उत्पादन २.१० प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
वनजन्य उत्पादनतर्फ काठ उत्पादन १०५.८७ प्रतिशतले वृद्धि भएको छ भने औषधिजन्य वस्तु तथा अन्य वन उत्पादन पनि बढेका छन्। दाउराको उत्पादन भने १४.१५ प्रतिशतले घटेको छ। प्रदेशमा कुल सिँचित क्षेत्रफल ५.४० प्रतिशतले बढेको छ र कुल खेतीयोग्य जमिनमध्ये ३१ प्रतिशत क्षेत्रमा सिंचाइ सुविधा पुगेको जनाइएको छ।
अध्ययनमा समेटिएका उद्योगहरूको औसत क्षमता उपयोग ३०.८२ प्रतिशत मात्र रहेको छ। तोरीको तेल, रोजिन, चामल र साबुन उत्पादनमा वृद्धि भए पनि अन्य अधिकांश औद्योगिक उत्पादनमा गिरावट आएको छ। प्रदेशमा बैंक तथा वित्तीय संस्थाबाट उद्योग क्षेत्रमा प्रवाहित कर्जा ३.४१ प्रतिशतले घटेर २७ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। कुल कर्जामध्ये १७.१६ प्रतिशत हिस्सा उद्योग क्षेत्रमा गएको देखिएको छ।
नमुना होटलहरूको तथ्याङ्क अनुसार समीक्षा अवधिमा पर्यटक आगमन ४९.०७ प्रतिशतले बढेको छ। घरजग्गा रजिष्ट्रेशन संख्या ९.५३ प्रतिशत तथा रजिष्ट्रेशन राजस्व २.६० प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप ४.४२ प्रतिशत तथा कर्जा प्रवाह २.२९ प्रतिशतले बढेको छ। समीक्षा अवधिमा प्रदेशमा १२ हजार ४ सय ५५ वटा सवारीसाधन दर्ता भएका छन्। कुल कर्जामध्ये ७३.१२ प्रतिशत सेवा क्षेत्रमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ।
समीक्षा अवधिमा सुदूरपश्चिमबाट २६ हजार ३ सय ४३ जनाले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। तीमध्ये २३ हजार ९ सय १९ जना पुरुष र २ हजार ४ सय २४ जना महिला रहेका छन्।
रानी जमरा कुलरिया सिंचाइ आयोजनाको भौतिक प्रगति ७४.८५ प्रतिशत तथा वित्तीय प्रगति ७१.४७ प्रतिशत पुगेको छ। महाकाली सिंचाइ आयोजनाको भौतिक प्रगति ४० प्रतिशत र वित्तीय प्रगति ३५ प्रतिशत रहेको छ। त्यसैगरी, महाकाली पुल आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत तथा वित्तीय प्रगति ९२.५ प्रतिशत पुगेको प्रतिवेदनमा उल्लेख छ।
प्रदेश सरकारको चालु खर्चतर्फ विनियोजित बजेटमध्ये समीक्षा अवधिसम्म २५.९५ प्रतिशत खर्च भएको छ भने पुँजीगत बजेट खर्च केवल ५.०४ प्रतिशतमा सीमित रहेको प्रतिवेदनले देखाएको छ।
आर्थिक-गतिविधि-अध्ययन-२०८२–८३-अर्ध–वार्षिक-प्रतिवेदन-सुदूरपश्चिम-प्रदेश