पोखरा लिचिबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता धरौटीमा रिहा हुने
ई आर्थिक
मंगलबार, जेष्ठ ५ २०८३
1K
Shares
काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तालाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको थुनामा पठाउने आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश जारी गरेको हो ।
यसअघि विशेष अदालतले पुर्पक्षका लागि गुप्तालाई थुनामा पठाउने निर्णय गरेको थियो । सर्वोच्च अदालत प्रशासनले वेबसाइटमार्फत उक्त आदेश बदर भएको र धरौटी माग गरिएको जानकारी दिएको छ । यद्यपि विस्तृत लिखित आदेश भने आउन बाँकी रहेको जनाएको छ ।
विशेष अदालतले १६ पुसमा दिएको आदेशमा गुप्ताविरुद्ध प्रस्तुत अन्य प्रमाणहरू विश्वसनीय देखिएको भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै थमौती गर्न ५३ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको थियो ।
त्यस्तै, भूमि आयोग कास्कीको अध्यक्षमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेन भएको आरोपसमेत लगाइएको छ । यस प्रकरणमा अख्तियारले कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
घुस दिएको आरोपमा सुजन लामाविरुद्ध पनि समान रकम बिगो मागदाबी सहित भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।