बिर्तामोड । झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुन र २० हजार अमेरिकी डलरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
सोमबार मेचीनगर–६ स्थित काँकरभिट्टा भन्सार ढाँटमा सशस्त्र प्रहरी बल नेपाल र मेची भन्सार कार्यालय को संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भारतीय नागरिक परम पाठक लाई पक्राउ गरेको हो।
भारतको पश्चिम बंगाल, कोलकाताका ३९ वर्षीय पाठक सिटी सफारीमार्फत नेपाल प्रवेश गर्दै थिए। शंका लागेपछि गरिएको चेकजाँचका क्रममा उनको साथबाट ठूलो परिमाणमा सुन, विदेशी मुद्रा तथा अन्य सामग्री बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका पाठकको साथबाट ५७० ग्राम सुन बरामद भएको छ, जसको मूल्य १ करोड ४४ लाख ३० हजार ८१५ रुपैयाँ बराबर रहेको छ। त्यस्तै, २० हजार अमेरिकी डलर, ८५ हजार ४१० भारतीय रुपैयाँ पनि फेला परेको छ।
बरामद अमेरिकी डलरको नेपाली मूल्य करिब ३० लाख ६५ हजार रुपैयाँ बराबर रहेको बताइएको छ।
यसका साथै उनीसँगबाट सवारी चालक अनुमति पत्र, आधार कार्ड, भिभो र सामसुङ कम्पनीका मोबाइल फोन, हार्ड डिस्क, सिम कार्ड, भिसा कार्ड तथा चेकसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक सन्तोषकुमार तामाङको कमाण्डमा खटिएको टोलीले पक्राउ परेका पाठकलाई बरामद सामग्रीसहित आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।