काठमाडौं । नेपाल बार एसोसिएसन ले सर्वोच्च अदालत प्रशासनले कायममुकायम प्रधानन्यायाधीशको आदेशसमेत अवज्ञा गर्दै न्याय सम्पादनमा अवरोध पुर्याएको आरोप लगाउँदै ‘लालटिन’ बालेर सांकेतिक आन्दोलन गर्ने घोषणा गरेको छ।
सोमबार बसेको बारको आकस्मिक बैठकले अदालतभित्रै न्याय हराएको निष्कर्ष निकाल्दै मंगलबारदेखि विरोधका कार्यक्रम सुरु गर्ने निर्णय गरेको हो।
बारका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला का अनुसार मंगलबार दिउँसो १:१५ बजे नेपाल बारको प्राङ्गणमा लालटिन बालेर ‘न्याय, विवेक र स्वच्छ प्रक्रिया’ को खोजी गरिनेछ।
बारका अनुसार कायममुकायम प्रधानन्यायाधीशले दिएका न्यायिक आदेश प्रशासनिक कर्मचारीले कार्यान्वयन नगरेपछि आन्दोलनको घोषणा गरिएको हो।
बारले सर्वोच्च अदालत प्रशासनको पछिल्लो कार्यशैलीप्रति पाँच बुँदे असहमति सार्वजनिक गर्दै संवैधानिक महत्त्वका विभिन्न रिट निवेदनहरू प्रशासनले दरपीठ गरेको जनाएको छ। ती निवेदनमाथि परेको उजुरीमा कायममुकायम प्रधानन्यायाधीशले दर्ता गरी निष्कर्षका लागि पेस गर्न स्पष्ट आदेश दिएको भए पनि प्रशासनले आदेश पालना गर्न अस्वीकार गरेको बारको दाबी छ।
बारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधानन्यायाधीशको आदेशसमेत पालना नगर्ने प्रशासनको रवैया असाधारण र अप्राकृतिक छ। यो प्रचलित कानुनको उल्लंघन मात्र नभई ऐतिहासिक भूलसमेत हो।”
बारले बिना कारण निवेदन दर्ता नगरी राख्नु न्यायमा पहुँच अवरुद्ध गर्ने कार्य भएको उल्लेख गरेको छ।
यसैबीच, अदालतसँग सम्बन्धित विचाराधीन मुद्दामा प्रतिनिधिसभाका केही सांसदहरूले संसद्मा टिप्पणी गरेको विषयमा पनि बारले आपत्ति जनाएको छ। संविधानको धारा १०५ अनुसार अदालतमा विचाराधीन विषयमा संसद्मा छलफल गर्न नमिल्ने स्मरण गराउँदै बारले त्यस्ता अभिव्यक्तिलाई ‘आवेश प्रेरित र दम्भमा आधारित’ भनेको छ।
बारले सभामुखसँग ती अभिव्यक्तिहरू संसदीय अभिलेखबाट हटाउन माग गर्दै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संसद्को ध्यानाकर्षणसमेत गराएको छ।
वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्र को अध्यक्षतामा बसेको बैठकले पहिलो चरणमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने तथा आगामी कार्यक्रम सल्लाहकार र विभिन्न एकाइहरूसँगको परामर्शपछि तय गर्ने निर्णय गरेको जनाएको छ।
नेपाल बारले मंगलबार हुने प्रदर्शनमा देशभरका कानुन व्यवसायीलाई सहभागी भई न्यायको रक्षाका लागि ऐक्यबद्धता जनाउन आह्वान गरेको छ।
