बेइजिङ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच बिहीबार बेइजिङस्थित ‘द ग्रेट हल अफ द पिपुल’ मा उच्चस्तरीय भेटवार्ता हुँदैछ। दोस्रो कार्यकाल सुरु भएपछि ट्रम्पको यो पहिलो चीन भ्रमण हो। सन् २०१७ पछि हुन लागेको भ्रमणलाई विश्व राजनीति, व्यापार र शक्ति सन्तुलनको दृष्टिले निकै महत्वका साथ हेरिएको छ।
अमेरिका र चीनबीच पछिल्ला वर्षहरूमा व्यापारिक तनाव, ताइवान विवाद, कृत्रिम बुद्धिमत्ता (एआई) तथा ऊर्जा राजनीतिका कारण सम्बन्ध जटिल बनेका बेला यो भेटलाई सम्बन्ध सुधारको प्रयासका रूपमा पनि विश्लेषण गरिएको छ।
ट्रम्प प्रशासनले दोस्रो कार्यकाल सुरु गरेसँगै चिनियाँ वस्तुमाथि भन्सार दर बढाएको थियो, जसले दुई देशबीचको व्यापारिक सम्बन्ध थप तनावपूर्ण बनेको छ। यही पृष्ठभूमिमा अमेरिकाले व्यापारिक सम्बन्धलाई नयाँ ढाँचामा लैजान ‘व्यापार बोर्ड’ सम्बन्धी प्रस्ताव अघि सार्ने तयारी गरेको बताइएको छ।
गत वर्ष दक्षिण कोरियाको बुसानमा भएको भेटपछि केही भन्सार शुल्क घटाइएको थियो, जसलाई ट्रम्पले आफ्नो कूटनीतिक सफलता बताएका थिए। तर दुवै देशबीचको अविश्वास कायम रहेकाले यसपटकको वार्ताले दीर्घकालीन समाधान दिन सक्छ वा सक्दैन भन्ने विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासोपूर्वक हेरिरहेको छ।
ताइवानको मुद्दा यो भेटको सबैभन्दा संवेदनशील विषय बन्ने देखिएको छ। चीनले ताइवानलाई आफ्नो अभिन्न भूभाग मान्दै आएको छ भने अमेरिकाले ताइवानलाई सुरक्षा सहयोग र हतियार बिक्री गर्दै आएको छ। ट्रम्पले चीन प्रस्थानअघि नै सी चिनफिङले ताइवानको विषयलाई प्राथमिकताका साथ उठाउने संकेत गरेका थिए।
अमेरिकाले प्रस्ताव गरेको ११ अर्ब डलर बराबरको हतियार प्याकेज र ताइवानप्रति वाशिङटनको समर्थनले बेइजिङ असन्तुष्ट बनेको छ। यसले दुई देशबीचको रणनीतिक अविश्वासलाई अझ गहिरो बनाउने सम्भावना देखिएको छ।
इरान युद्ध र त्यसले विश्व ऊर्जा बजारमा पारेको असर पनि वार्ताको अर्को प्रमुख एजेन्डा बन्नेछ। अमेरिका इरानविरुद्ध प्रत्यक्ष रूपमा सक्रिय रहँदा चीनले भने इरानमाथिको आक्रमणको आलोचना गर्दै आएको छ। चीन लामो समयदेखि इरानी तेलको प्रमुख खरिदकर्ता भएकाले ऊर्जा सुरक्षाको विषयमा पनि बेइजिङ र वाशिङटनबीच मतभेद स्पष्ट देखिएको छ।
ट्रम्पको भ्रमण टोलीमा अमेरिकी उद्योग तथा प्रविधि क्षेत्रका प्रभावशाली व्यक्तिहरू पनि सहभागी छन्। टेस्लाका इलन मस्क, एप्पलका टिम कुक, ब्ल्याकरकका ल्यारी फिङ्कलगायत १६ प्रतिष्ठित कम्पनीका प्रमुख कार्यकारी अधिकृत बेइजिङ पुगेका छन्।
अमेरिकाले दुर्लभ खनिज पदार्थमा चीनमाथिको निर्भरता कम गर्न खोजे पनि तत्कालका लागि चिनियाँ पहुँच कायम राख्न चाहिरहेको देखिन्छ। चीन विश्वकै ठूलो ‘रेयर अर्थ’ आपूर्तिकर्ता भएकाले विद्युतीय गाडी, चिप्स तथा रक्षा उद्योगका लागि उसको भूमिका निर्णायक मानिन्छ।
वार्तामा चीनले ५०० वटा बोइङ विमान खरिद गर्ने सम्भावना तथा अमेरिकी कृषि उत्पादनको आयात बढाउने विषय पनि उठ्ने अपेक्षा गरिएको छ। बदलामा चीनले उच्च प्रविधि, एआई र सेमीकन्डक्टर क्षेत्रमा अमेरिकाले लगाएका प्रतिबन्ध खुकुलो बनाउन आग्रह गर्न सक्ने बताइएको छ। चिनियाँ विद्युतीय सवारी उत्पादक बीवाईडीलाई अमेरिकी बजारमा प्रवेश दिने विषय पनि छलफलको दायरामा रहेको जनाइएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले समानता र आपसी सम्मानका आधारमा अमेरिकासँग सहकार्य गर्न चीन तयार रहेको बताएका छन्। सन् २०२६ को पहिलो दुई महिनामै चीनको निर्यात २१ दशमलव ८ प्रतिशतले बढेको तथ्याङ्कले पश्चिमी दबाबबीच पनि चीनले विश्व बजारमा आफ्नो प्रभाव विस्तार गरिरहेको संकेत दिएको छ।
विश्लेषकहरूका अनुसार बेइजिङमा हुने ट्रम्प–सी भेट केवल दुई नेताबीचको औपचारिक वार्ता मात्र नभई आगामी विश्व शक्ति सन्तुलन, व्यापारिक संरचना र भू–राजनीतिक प्रतिस्पर्धाको दिशा तय गर्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।