काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । माध्यमिक तहको अन्तिम परीक्षा वैशाख १४ देखि वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजीको रहेको थियो भने परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालयले साधारण तथा प्राविधिक विषय समूहअन्तर्गत नियमित र आंशिक दुवै प्रकारका परीक्षार्थीहरू सहभागी हुनेछन्।
यस वर्ष कक्षा १२ परीक्षामा देशभरका ५,३३९ विद्यालयबाट नियमिततर्फ ३ लाख ३२ हजार १७८ र आंशिकतर्फ ८५ हजार ८३० गरी कूल ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी हुनेछन्।
नियमिततर्फ छात्र १ लाख ७२ हजार १२, छात्रा १ लाख ६० हजार १३७ र अन्य २९ जना रहेका छन्।
जिल्लागत रूपमा सबैभन्दा कम परीक्षार्थी मनाङमा ३१ जना रहेका छन् भने सबैभन्दा बढी काठमाडौं जिल्ला बाट ६४ हजार ३३८ परीक्षार्थी सहभागी हुनेछन्।
परीक्षा सञ्चालनका लागि नेपालभर १,४२० र विदेशतर्फ जापान मा १ गरी कूल १,४२१ परीक्षा केन्द्र निर्धारण गरिएको छ। केन्द्र संख्या अनुसार सबैभन्दा बढी काठमाडौं जिल्लामा १६१ वटा केन्द्र रहेका छन् भने मनाङ र मुस्ताङमा १/१ केन्द्र मात्र निर्धारण गरिएको छ।
प्रदेशगत रूपमा सबैभन्दा बढी परीक्षार्थी बागमती प्रदेशमा १ लाख २० हजार ४७७ रहेका छन् भने सबैभन्दा कम गण्डकी र कर्णाली प्रदेशमा करिब ३० हजारको हाराहारीमा रहेका छन्।
परीक्षा अवधिमा ४४ हजार २०४ जना जनशक्ति परिचालन गरिने भएको छ। जसमा १,४२१ केन्द्राध्यक्ष, १,७०५ सहायक केन्द्राध्यक्ष, २०,९०० निरीक्षक, १,७०५ कर्मचारी, १,४२१ कार्यालय सहयोगी तथा १७,०५२ सुरक्षाकर्मी खटिनेछन्।
बोर्डले परीक्षा मर्यादित, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई आवश्यक सहयोग गर्न आग्रह गरेको छ।