काठमाडौं । सुकुम्बासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन नेपाल प्रहरीले सर्वसाधारणसँग सहयोगको आह्वान गरेको छ।
प्रहरीले जारी गरेको सूचनामा सरकारद्वारा सुरु गरिएको सुकुम्बासी/भूमिहीन व्यवस्थापन प्रक्रिया वास्तविक भूमिहीनलाई न्यायोचित आवास र अधिकार प्रदान गर्न सञ्चालन गरिएको महत्वपूर्ण पहल भएको उल्लेख गरिएको छ।
सूचनामा केही स्वार्थी तथा टाठाबाठा व्यक्तिहरूले वास्तविक सुकुम्बासीको नाममा अनुचित लाभ लिन खोजिरहेको गुनासो आइरहेको भन्दै त्यसले वास्तविक भूमिहीनहरू सेवा सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना गरेको उल्लेख छ।
नेपाल प्रहरीले नागरिकहरूलाई आफैं सजग भई नक्कली सुकुम्बासी पहिचान गर्न र वास्तविक भूमिहीनको अधिकार संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ। साथै, यस्ता गतिविधिबारे समयमै सुरक्षा निकायलाई सही सूचना उपलब्ध गराउन समेत अनुरोध गरिएको छ।
प्रहरीका अनुसार वास्तविक भूमिहीनलाई राज्यले उपलब्ध गराउने सुविधा र सुरक्षित आवास सुनिश्चित गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको छ। प्रहरीले यो प्रक्रियामा एकजुट भएर सहयोग गर्न सबैलाई आग्रह गरेको छ।