२०८३ साउन १२ मंगलबार

मध्यपूर्व तनावबीच इजरायल–लेबनान युद्धविराम विस्तार, इरानसँग वार्ता अन्योलमै

ई आर्थिक    शुक्रबार, बैशाख ११ २०८३
874
Shares
मध्यपूर्व तनावबीच इजरायल–लेबनान युद्धविराम विस्तार, इरानसँग वार्ता अन्योलमै

वासिङ्टन । मध्यपूर्वमा जारी तनावका बीच इजरायल र लेबनानबीचको युद्धविराम थप अवधिका लागि विस्तार गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार उक्त घोषणा गर्दै इरानसँगको शान्ति वार्ता अझै अन्योलमै रहेको बताउनुभएको छ।

इरानसँगको वार्ता अपेक्षित रूपमा अघि बढ्न नसक्दा क्षेत्रीय सुरक्षा अवस्था झन् जटिल बनेको देखिएको छ। लेबनानमा इजरायली आक्रमण भइरहेका बेला इरान समर्थित हिजबुल्लाहले रकेट प्रहार गरेपछि स्थिति थप तनावग्रस्त बनेको हो। यद्यपि ट्रम्पले दुवै देशका राजदूतहरूसँग छलफल गरेपछि युद्धविराम विस्तारको निर्णय सार्वजनिक गरिएको हो। प्रारम्भमा आइतबारसम्म मात्र लागू हुने भनिएको युद्धविराम अब थप समयका लागि कायम रहनेछ।

पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले क्षेत्रीय शान्तिको सम्भावना अझै बलियो रहेको दाबी गर्दै समाधानका आधारहरू बाँकी रहेको बताउनुभएको छ। तर इरानसँगको द्वन्द्व अन्त्य गर्न आफू हतारमा नरहेको उहाँको भनाइ छ।

यसैबीच, मध्यपूर्व क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति थप बलियो भएको छ। तेस्रो अमेरिकी विमानवाहक पोत क्षेत्रमै पुगेपछि सैन्य गतिविधि बढेको छ। इरानी सञ्चारमाध्यमहरूले राजधानी तेहरानमा विस्फोट भएको खबर दिएका छन्, यद्यपि कारण स्पष्ट भएको छैन।

स्ट्रेट अफ हर्मुज क्षेत्रमा पनि तनाव बढेको छ, जहाँ विश्वको ठूलो हिस्सा तेल र ग्यास ढुवानी हुने भएकाले स्थिति अत्यन्त संवेदनशील बनेको छ। इरानले अमेरिकी दबाब अस्वीकार गर्दै उक्त जलमार्गमा कडाइ गरेको जनाएको छ।

अमेरिकाले भने आफ्ना नौसैनिक पोतहरू परिचालन गर्दै क्षेत्रीय सुरक्षा निगरानी बढाएको छ। युएस सेन्ट्रल कमान्डका अनुसार तीनवटा विमानवाहक पोत मध्यपूर्व क्षेत्रमा तैनाथ छन्।

इरानले भने आन्तरिक एकता कायम रहेको दाबी गर्दै बाह्य दबाबले असर नपार्ने स्पष्ट पारेको छ। यता, पाकिस्तानमा सम्भावित शान्ति वार्ता पुनः सुरु हुने संकेत देखिए पनि औपचारिक प्रक्रिया अघि बढिसकेको छैन। युरोपेली देशहरू पनि कूटनीतिक समाधानका लागि सक्रिय भएका छन्। रासस/एएफपी।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij