काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित सुन तस्करी प्रकरणमा संलग्न विभिन्न व्यक्तिविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारी, उच्च अधिकारी तथा राजनीतिक व्यक्तिहरूसमेतको मिलेमतोमा सुन तस्करी गराई ठूलो परिमाणमा राजस्व चुहावट गरेको ठहर गर्दै मुद्दा दायर गरेको जनाएको छ।
अनुसन्धानअनुसार २०७९ पुस १० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमार्फत चीनका नागरिक लि हाङ सोङ( LI HANG SONG) ले ल्याएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाइएका सुन जफत गरिएको थियो। उक्त सामानमा करिब ८.४८ किलोग्राम सुन रहेको पाइएको छ।
भन्सारका कर्मचारीहरूले एक्स–रे जाँचमा शंकास्पद देखिए पनि आवश्यक जाँच नगरी बदनियतपूर्वक सामान जफत गरी पछि परिवर्तन गर्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ। जफत गरिएको सामग्री सुरक्षित राख्ने नाममा गोदाममा नराखी कार्यालय प्रमुखको कार्यकक्षमा राखिएको र पछि सुन भएको भेप साटेर अन्य वस्तु राखिएको आरोप छ।
यस प्रकरणमा पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुल (रेशम) महराले समेत संलग्नता राखी भन्सार अधिकारीहरूमाथि प्रभाव पार्दै तस्करी समूहलाई सहयोग गरेको अख्तियारको निष्कर्ष छ।
आयोगका अनुसार कुल ७ करोड ७८ लाख ६८ हजार रुपैयाँभन्दा बढी बराबरको सम्पत्ति हिनामिना गरिएको पुष्टि भएको छ।
यस घटनामा भन्सारका तत्कालीन प्रमुख प्रशासक अरुण पोखरेलसहित विभिन्न कर्मचारी र व्यापारीहरू गरी दुई समूहका प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरिएको छ। मुख्य आरोपितहरूलाई कैद, जरिवाना तथा बिगो असुल उपर गर्न माग गरिएको छ।
अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार प्रकरणमा संलग्न सबै व्यक्तिहरूलाई मुख्य कसुरदारसरह सजायको माग गरिएको छ।