२०८३ साउन १० आइतबार

बर्दीबास उद्योग वाणिज्य संघमा दीपकबहादुर कार्की प्यानलको ‘क्लिन स्वीप’

ई आर्थिक    बिहिबार, चैत्र २६ २०८२
1.3K
Shares
बर्दीबास उद्योग वाणिज्य संघमा दीपकबहादुर कार्की प्यानलको ‘क्लिन स्वीप’

बर्दीबास, महोत्तरी : बर्दीबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा दीपकबहादुर कार्की नेतृत्वको प्यानलले सबै पदमा जित हात पारेको छ। बुधबार साँझ सार्वजनिक अन्तिम परिणाम अनुसार, अध्यक्ष पदमा कार्कीले आफ्ना प्रतिद्वन्द्वी उत्तम श्रेष्ठ लाई २७१ मतको अन्तरले पराजित गर्नुभएको हो।

कार्कीले कुल ८२८ मत (५८.४७ प्रतिशत) प्राप्त गर्दा श्रेष्ठले ५५७ मत ल्याउनुभएको थियो। निर्वाचनमा कार्की ‘डमरु’ र श्रेष्ठ ‘कलश’ चिन्हबाट प्रतिस्पर्धामा उत्रिएका थिए।

१७ सदस्यीय कार्यसमितिका सबै पदमा कार्की प्यानलका उम्मेदवारहरू विजयी भएका छन्। प्रथम उपाध्यक्षमा रञ्जितराज ढुंगाना (८४९ मत), द्वितीय उपाध्यक्षमा रामनाथ साह (७४३ मत), महिला उपाध्यक्षमा ज्ञानु बलम्पाकी आले (७६९ मत) विजयी हुनुभएको छ।

यसैगरी, महासचिवमा केदार गौतम (८१७ मत), सचिवमा रिमनाथ अधिकारी (७०० मत), कोषाध्यक्षमा सुरेन्द्रराज लामा (७२९ मत) तथा सह–कोषाध्यक्षमा संगमकुमारी आले (८२९ मत) निर्वाचित हुनुभएको छ।

सदस्यतर्फ चार महिला र पाँच पुरुष सदस्य पदमा पनि कार्की प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्।

नव निर्वाचित अध्यक्ष कार्की मधेश प्रदेशका चर्चित स्वास्थ्य व्यवसायी हुन्। उहाँ शुभ स्वस्तिक अस्पताल तथा नर्सिङ कलेजका सञ्चालक समेत हुनुहुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा उहाँले गरेको योगदानका कारण बर्दीबासका व्यवसायीमाझ लोकप्रिय रहनुभएको छ। यसअघि पनि उहाँ २०७० र २०७९ सालमा सदस्य पदमा सर्वाधिक मत ल्याएर विजयी भइसक्नुभएको थियो।

निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष कार्कीले बर्दीबासको व्यावसायिक एकता र दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

“बर्दीबासको व्यावसायिक एकता, साझा हित र दीर्घकालीन आर्थिक समृद्धिलाई केन्द्रमा राख्दै हाम्रो टोली स्पष्ट योजनाका साथ अघि बढ्नेछ,” उहाँले भन्नुभयो।

यसपटक प्यानल विजयी भए पनि परम्परागत रूपमा निकालिने विजय जुलुस नगरी संयमित शैली अपनाइएको स्थानीयहरूले बताएका छन्।

निर्वाचन अधिकृत विष्णु कार्की का अनुसार, कुल १,६४० मतदातामध्ये १,४१६ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij