काठमाडौं । स्थानीय तहमा लामो समयदेखि जरा गाडेको ‘निमित्त प्रमुख प्रशासकीय अधिकृत’ प्रणाली अन्त्य गर्न सरकारले ठोस कदम चालेको छ। सोही अभियानअन्तर्गत देशभरका ७८ वटा गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले बिहीबार गरेको निर्णयअनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई गाउँपालिकाहरूमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको हो।
स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो। यसका कारण निर्णय प्रक्रियामा ढिलासुस्ती, जिम्मेवारीमा अस्पष्टता तथा सेवा प्रवाहमा कमजोरी देखिएको भन्दै सरकार आलोचित बन्दै आएको थियो। यही अवस्थालाई अन्त्य गर्दै स्थायी प्रशासनिक संरचना सुदृढ बनाउने उद्देश्यले सरकारले ‘निमित्त अन्त्य’ अभियान सुरु गरेको हो।
प्रतिभा रावल ले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि स्थानीय तहको प्रशासनिक सुधारलाई उच्च प्राथमिकतामा राखेकी छन्। यसअघि नै नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाउने काम सुरु भइसकेको थियो भने अब गाउँपालिकामा पनि सोही प्रक्रिया विस्तार गरिएको हो।
मन्त्रालयका अनुसार अझै केही स्थानीय तहमा निमित्तकै भरमा काम भइरहेको छ। त्यसैले सबै गाउँपालिका र नगरपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी रहेको छ।
सरकारले यस कदमबाट सेवा प्रवाहलाई थप चुस्त, प्रभावकारी र जवाफदेही बनाउने अपेक्षा गरेको छ। प्रमुख प्रशासकीय अधिकृत खटिएपछि विकास निर्माण, प्रशासनिक निर्णय तथा सेवा वितरणमा गति आउने विश्वास गरिएको छ।
मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय तहमा बसेको नदेखिएको अवस्था, घर ठेगाना मिल्दोजुल्दो भएका कर्मचारी तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउन आवश्यक जनशक्ति व्यवस्थापनजस्ता विषय समावेश छन्। साथै, निमित्त प्रणालीमार्फत स्थानीय तह सञ्चालन गर्दा आर्थिक अनुशासनमा समेत प्रश्न उठेकाले यस्तो निर्णय लिइएको जनाइएको छ।