काठमाडौं : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएपछि तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ।
विभागका अनुसार इमाडोलस्थित दशरथ ग्रोसरी प्रालिलाई रु ५० हजार, सूर्यविनायक–बालकोटको शाह एण्ड शाह इन्टरप्राइजेजलाई रु १० हजार र महालक्ष्मी–५ टिकाथलीको ए एण्ड ए सपिङ सेन्टरलाई रु पाँच हजार जरिवाना गरिएको हो।
अनुगमनका क्रममा ती फर्महरूले कानुन विपरीत कारोबार गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ।
यसैबीच, अन्य १५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ। विभागले स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको जनाएको छ।