काठमाडौं । नेपाल टेलिकमले आफ्नो अन्तर्राष्ट्रिय भोल्टी रोमिङ सेवा अब डेनमार्क र दक्षिण कोरियामा पनि विस्तार गरेको छ। कम्पनीका अनुसार आजदेखि यी दुई देशमा समेत नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सो सेवा उपयोग गर्न सक्ने भएका छन्।
यसका लागि नेपाल टेलिकमले डेनमार्कको टेलिनोर डेनमार्क र दक्षिण कोरियाको एसके टेलिकम सँग सम्झौता गरेको जनाएको छ।
यसअघि क्यानडा, अमेरिका, अष्ट्रेलिया, लक्जेमबर्ग, इजरायल र ताइवान (आरओसी) मा उपलब्ध रहेको यो सेवा अब कुल ८ देशमा विस्तार भएको छ। कम्पनीले ती देशका विभिन्न सेवा प्रदायकसँग सहकार्य गर्दै सेवा विस्तार गरेको हो।
रोमिङ सेवा भन्नाले विदेशमा रहँदा पनि आफ्नै देशको मोबाइल प्रयोग गरी भ्वाइस (आवाज), डाटा (इन्टरनेट) र सन्देश सेवा प्रयोग गर्न सकिने प्रविधि हो। भोल्टी (भ्वाइस ओभर एलटीई) प्रविधिमार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको (एचडी) आवाज कल गर्न सक्ने सुविधा पाउँछन्।
नेपाल टेलिकमले यो सेवा देशभित्र पहिले नै उपलब्ध गराउँदै आएको छ। अन्तर्राष्ट्रिय भोल्टी रोमिङ प्रयोग गर्न मोबाइलमा उक्त सेवा सक्रिय गरिएको हुनुपर्छ र मोबाइल सेट पनि सो सेवा समर्थन गर्ने हुन आवश्यक हुन्छ।
मोबाइलको स्क्रिनको माथिल्लो भागमा ‘भोल्टी’ देखिएमा उक्त सेवा प्रयोग गर्न मिल्ने जनाइएको छ। यदि देखिएन भने सम्बन्धित सेवा सक्रिय गर्ने विकल्पमार्फत यसलाई सञ्चालनमा ल्याउन सकिने कम्पनीले जनाएको छ।