काठमाडौं । सरकारले पेट्रोलमा १० प्रतिशतसम्म इथानोल मिसाउन सकिने व्यवस्था लागू गरेको छ। सरकारले जारी गरेको “पेट्रोलमा इथानोल मिश्रणसम्बन्धी आदेश, २०८२” राजपत्रमा प्रकाशित भएसँगै यस्तो व्यवस्था कार्यान्वयनमा आएको हो।
सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित इथानोल उत्पादनलाई प्रोत्साहन गर्दै देशभित्र रोजगारी सिर्जना गर्ने तथा पेट्रोलको आयात घटाउने लक्ष्यसहित यो नीति ल्याएको जनाएको छ। आदेशअनुसार खाद्यान्नका रूपमा प्रत्यक्ष प्रयोग हुने अन्नलाई इथानोल उत्पादनको कच्चा पदार्थका रूपमा प्रयोग गर्न पाइने छैन।
उद्योगले उत्पादन गरेको इथानोल अनिवार्य रूपमा नेपाल आयल निगमलाई मात्र बिक्री गर्नुपर्नेछ। निगमबाहेक अन्य निकाय वा बजारमा बिक्री वितरण गर्न नपाइने व्यवस्था गरिएको छ। साथै इथानोल पेट्रोलमा मिसाउने प्रयोजनबाहेक अन्य प्रयोगका लागि प्रयोग गर्न नपाइने प्रावधान पनि आदेशमा राखिएको छ।
इथानोलको गुणस्तर भने नेपाल गुणस्तर तथा नापतौल विभागले निर्धारण गरेको मापदण्डअनुसार हुनुपर्नेछ। उत्पादन प्रक्रिया वातावरणमैत्री हुनुपर्ने विषय पनि आदेशमा समेटिएको छ।
इथानोल खरिद मूल्य निर्धारणका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव संयोजक रहने समितिले सिफारिस गर्नेछ। उक्त सिफारिसका आधारमा मन्त्रिपरिषद्ले मूल्य तय गर्ने र तोकिएको मूल्य २०८३ साउन १ गतेदेखि लागू हुने उल्लेख गरिएको छ। मूल्य निर्धारण गर्दा प्राथमिक लागत, कारखाना सञ्चालन खर्च, प्रशासनिक खर्च तथा अन्य आवश्यक लागतलाई आधार मानिने जनाइएको छ।
मन्त्रालयका अनुसार पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिसाउन सकेमा नेपालबाट हुने पेट्रोल आयात वार्षिक करिब ६ अर्ब रुपैयाँसम्म घट्न सक्ने अनुमान गरिएको छ। यसबाट वैदेशिक मुद्रा बचत हुनुका साथै स्वदेशी कृषि उत्पादन र औद्योगिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ।
यसैबीच, अमेरिकामा बसोबास गर्ने गैरआवासीय नेपालीहरूको पहलमा स्थापना भएको कियान केमिकल्स इन्डस्ट्रिजले इथानोल उत्पादन उद्योगमा करिब १२ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव अघि सारेको छ।