कुनै दलसँग आबद्ध नरहेको घोषणा
काठमाडौँ : बुद्ध एयरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टीका संस्थापक वीरेन्द्रबहादुर बस्नेतले आफू अब कुनै पनि राजनीतिक दलसँग आबद्ध नरहेको घोषणा गरेका छन्। उनले आगामी दिनमा व्यवसायसँगै समाजसेवा र राष्ट्र निर्माणका कार्यमा केन्द्रित हुने बताएका छन्।
शुक्रबार सार्वजनिक गरेको वक्तव्यमा बस्नेतले वि.सं. २०८२ भदौ २३ र २४ गते देशभर उर्लिएको जनविद्रोह र ७६ जना नवयुवाको सहादतले आफूलाई गहिरो रूपमा प्रभावित बनाएको उल्लेख गरेका छन्। उनका अनुसार ती घटनाहरू भ्रष्टाचार, बेरोजगारी, गरिबी, शोषण र बेथितिविरुद्ध उठेको शक्तिशाली आवाजका रूपमा देखिएको थियो।
बस्नेतले उक्त जनविद्रोहले देशलाई नयाँ दिशातर्फ लैजान सक्ने आशा जगाएको बताउँदै सोही विश्वासका आधारमा सुशासन, दिगो रोजगारी र समतामूलक विकासको लक्ष्यसहित गतिशील लोकतान्त्रिक पार्टीमा आबद्ध भई केन्द्रीय सदस्यको रूपमा काम गरेको उल्लेख गरेका छन्।
तर हालको राजनीतिक संस्कार आफ्नो मूल्य र आत्मासँग मेल नखाएको भन्दै उनले दलबाट अलग हुने निर्णय लिएको बताएका छन्। उनले वक्तव्यमा भनेका छन्, “पद र दलको सीमाभित्र रहेर मेरो अनुभव, क्षमता र देशप्रतिको प्रेमले खोजेको योगदान दिन सकिँदैन भन्ने मैले महसुस गरेँ।”
अब आफू स्वतन्त्र र जिम्मेवार नागरिकका रूपमा देश र समाजको सेवामा लाग्ने उनले बताएका छन्। आगामी दिनमा स्थानीय तथा प्रदेश सरकारको सक्षम व्यवस्थापन, दिगो पर्यटन, व्यवसायमुखी कृषि तथा गुणस्तरीय माध्यमिक शिक्षाजस्ता क्षेत्रमा काम गर्ने योजना उनले व्यक्त गरेका छन्।
बस्नेतले गतिशील लोकतान्त्रिक पार्टीसहित सबै लोकतान्त्रिक राजनीतिक दलहरूलाई आफ्नो सिद्धान्त र एजेन्डाप्रति प्रतिबद्ध रहन शुभकामना दिएका छन्। साथै उनले आम नागरिकप्रति आभार व्यक्त गर्दै आगामी यात्रामा साथ, सहयोग र विश्वास पाउने अपेक्षा व्यक्त गरेका छन्।