२०८३ साउन १० आइतबार

एकै पटक दुई अस्ट्रियाली पुरुषसँग विवाह, आमाको पनि समर्थन

ई आर्थिक    बुधबार, फाल्गुन २० २०८२
1.6K
Shares
एकै पटक दुई अस्ट्रियाली पुरुषसँग विवाह, आमाको पनि समर्थन

काठमाडौं : थाइल्याण्डको उत्तर-पूर्वी क्षेत्रकी ३७ वर्षीया पूर्वगायिका तथा गीतकार दुजदुआन केतसारोले गत शनिबार एकै समारोहमा दुई पुरुषसँग विवाह गरिन्। पाहुनाहरूसँग कुरा गर्दै उनले भनिन्, ‘यदि तपाईंले एकजनासँग विवाह गर्नुभयो भने संसारले सम्झने छैन, तर एकैसाथ दुईजनासँग गर्नुभयो भने सबैले सम्झनेछन्।’

‘साउथ चाइना मर्निङ पोस्ट’ र ‘खाओसोद’का अनुसार दुजदुआनले दुई अस्ट्रियाली नागरिकहरू (रोमन र माकी) सँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्। रोमन अवकाशप्राप्त प्रहरी अधिकारी हुन् र उनी विगत पाँच वर्षदेखि दुजदुआनसँग बस्दै आएका थिए। माकी भने रोमनका मिल्ने साथी र बहालवाला प्रहरी हुन्। माकीले पनि दुजदुआनलाई मन पराउन थालेपछि उनीहरू तीनै जनाले खुला छलफल गरे र एक वर्षपछि विवाह गर्ने निर्णय गरे।

बुरीराम प्रान्तको प्राखोन चाई जिल्लामा आयोजित एक परम्परागत समारोहमा उनीहरूले आध्यात्मिक आशीर्वाद लिँदै ‘रिस्ट-टाइइङ’ (हात बाँध्ने) विधि पूरा गरे। दुवै दुलाहाले दाइजो स्वरूप १–१ मिलियन गरी कुल २ मिलियन भाट (थाई मुद्रा) दिएका छन्। साथै, उनीहरूले दुजदुआनका अघिल्लो सम्बन्धबाट रहेका तीन सन्तान र दुई नातिनातिनाको हेरचाह गर्ने वाचा समेत गरेका छन्।

दुजदुआनकी ६१ वर्षीया आमा गुआङले यो सम्बन्धलाई आशीर्वाद दिँदै भनिन्, ‘मैले मेरी छोरीले वर्षौंदेखि संघर्ष गरेको देखेकी छु, उसको खुसी नै मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’ सालेङ्थोन नगरपालिकाका मेयर थियान-इउ लुवाङ्देचानुराकले यो विवाह यस क्षेत्रकै पहिलो भएको बताएका छन्।

यद्यपि, यो विवाह कानुनी रूपमा मान्य छैन किनभने थाइल्याण्डको कानुनले बहुविवाहलाई मान्यता दिँदैन। रोचक कुरा के छ भने सोही हप्ता गाउँकी प्रमुख चरिनरत नुमदुआले आफ्नी प्रेमिका रुंगनापा बुतसामरानसँग १.४ मिलियन भाटको दाइजोसहित कानुनी रूपमा विवाह गरेकी थिइन्, जसले थाइल्याण्डमा भर्खरै लागू भएको समलिंगी विवाहको कानुनी अभ्यासलाई देखाउँछ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij