काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं ले फागू पूर्णिमा (होली) पर्व सभ्य, मर्यादित र अनुशासित ढंगले मनाउन सर्वसाधारणमा आग्रह गरेको छ। कार्यालयले फागुन १८ गते मनाइने होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै सार्वजनिक शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न विशेष अनुरोध गरेको हो।
कार्यालयद्वारा जारी सूचनामा होली मनाउने नाममा अनावश्यक तडकभडक, खर्चिला तथा भड्किला कार्यक्रम नगर्न सचेत गराइएको छ। सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरूलाई व्यवस्थित र नियमन गरेको उल्लेख गर्दै सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी सामाजिक मर्यादा उल्लंघन गर्ने, कसैको इच्छाविपरीत रंग र पानी छ्याप्ने जस्ता अमर्यादित कार्य नगर्न/नगराउन आग्रह गरिएको छ।
यसैबीच, आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ (घ) अनुसार दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित लोगो, स्टिकर, कपडा, टोपी, टि–सर्ट, ज्याकेट, गम्छा लगायतका सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको जनाएको छ। होली पर्वका अवसरमा निर्वाचन चिन्ह वा उम्मेदवारको तस्वीर अंकित कपडा प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइएको सूचनामा उल्लेख छ।
प्रशासनले धार्मिक तथा सांस्कृतिक रूपमा आफ्नै घर कम्पाउण्डभित्र आफन्त, परिवारजन र साथीसँग पर्व मनाउन कुनै रोक नलगाइएको स्पष्ट पारेको छ। तर खुला सडक तथा सार्वजनिक स्थानमा भिड जम्मा गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाई सांगीतिक कार्यक्रम गर्ने तथा मादक पदार्थ बिक्री वितरण र सेवन गर्ने कार्य नगर्न निर्देशन दिएको छ।
आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकार हनन नहुने गरी पर्व मनाउन अनुरोध गर्दै सूचनामा उल्लिखित निर्देशनको उल्लंघन भए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ।
उक्त सूचना सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल द्वारा जारी गरिएको हो।
