काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतारोहणमा फेक रेस्क्यू प्रकरणमा थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक हुन् विमान सेवा सञ्चालक संघ नेपालका पूर्व उपाध्यक्ष राजेन्द्रबहादुर सिंह र अर्को रोयल होलिडेज एड्भेन्चर एन्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारी रहेका छन् ।
सन्दीप तिवारीलाई मंगलबार, भने राजेन्द्रबहादुर सिंहलाई बुधबार बिहान पक्राउ गरिएको सिआइबीले जनाएको छ। यससँगै ट्रेकिङ कम्पनी, रेस्क्यू कम्पनी, अस्पताल, विदेशी विमाको नेपालस्थित लोकल एजेन्ट तथा हेलिकप्टर कम्पनीका शेयरधनी समेत गरी जम्मा ९ जनालाई पक्राउ गरिसकेको छ।
सिआइबीका अनुसार माघ २५ गते श्रृद्धी अस्पतालका सञ्चालक डा. गिर्वाणराज तिमिल्सिना लाई पनि पक्राउ गरिएको थियो। उनीहरूमाथि राष्ट्रहित प्रतिकूल काम गर्न नहुने कसुर तथा संगठित अपराध अनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।
सिआइबीले माघ ११ गते पर्वतारोहणका लागि आएका विदेशी पर्यटकबाट विमा रकम असुली गर्न संगठित रूपमा ठगी भइरहेको जानकारी पाएपछि ६ जनालाई पनि तत्काल पक्राउ गरेको थियो। यस प्रकरणले नेपालको पर्वतारोहण क्षेत्रमा फेक रेस्क्यू र ठगीको जालबारे ठूलो चिन्ता उत्पन्न गरेको छ।
सिआइबीले आगामी दिनमा अनुसन्धानलाई तीव्र बनाउँदै सबै जिम्मेवार व्यक्तिलाई कानूनी कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।