काठमाडौं । सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद् बैठकले यो निर्णयका साथै केही अन्य महत्वपूर्ण निर्णयहरू पनि गरेको छ।
सरकारले २०८३ साल वैशाख १ देखि चैत मसान्तसम्म एक वर्षभरि सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको छ। त्यस्तै, प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि फागुन २० देखि २२ गतेसम्म तीन दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि भएको छ।
सरकारका प्रवक्ता ओमप्रकाश अर्यालका अनुसार, प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्रस्ताव गरिएको चार मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान स्वीकार गर्ने निर्णय पनि भएको छ।
बैठकले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने, काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टलाई उपभोक्ता अदालत काठमाडौँको अध्यक्ष तोक्ने, र बिमा ऐन २०७९ अनुसार मुद्दा कारबाहीका विषयमा जिल्ला अदालतलाई जिम्मेवारी दिने निर्णयहरू पनि गरेको छ।