काठमाडौं : सुन्धारास्थित धरहरा क्षेत्रमा निर्माण गरिएको सवारी साधन पार्किङको सञ्चालन तथा व्यवस्थापन अब काठमाडौं महानगरपालिकाले गर्ने भएको छ। शुक्रबार धरहरा परिसरमा नेपाल सरकार र महानगरबीच भएको छलफलपछि पार्किङ व्यवस्थापनको जिम्मेवारी महानगरलाई दिने सहमति जुटेको हो।
नयाँ सहमतिअनुसार धरहराभित्र रहेको पार्किङ स्थलको सञ्चालन, व्यवस्थापन तथा सुरक्षासम्बन्धी सम्पूर्ण काम अब महानगर प्रहरी बलले अघि बढाउनेछ। पार्किङ क्षेत्रको सुरक्षादेखि आवश्यक प्रबन्धसम्मको जिम्मा नगरप्रहरीले सम्हाल्ने निर्णय गरिएको छ।
धरहरा सञ्चालनका लागि संयुक्त समिति गठन
बैठकले धरहरा क्षेत्रको दीर्घकालीन र अल्पकालीन सञ्चालन योजना तयार गर्न संयुक्त समिति गठन गर्ने निर्णय पनि गरेको छ। समितिले परियोजना सञ्चालन, प्रारूप निर्माण, अध्ययन–विश्लेषणलगायतका विषयमा प्रतिवेदन तयार गरी पेश गर्नेछ। समितिमा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले तोकेका पदाधिकारीहरू रहनेछन्।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले धरहराको बाहिरी संरचनासम्बन्धी आवश्यक तथा उपयुक्त कार्य गर्ने जिम्मेवारी महानगरलाई दिइएको जानकारी दिइन्। उनले धरहराको समग्र सञ्चालन र व्यवस्थापन पूर्ण रूपमा महानगरलाई हस्तान्तरण गर्न संघीय सरकारसँग आग्रह गरिएको पनि बताइन्।
बाहिरी संरचनाको आर्थिक दायित्व महानगरकै
सहरी विकास मन्त्री कुमार इङ्नामले सुन्धारास्थित धरहराको बाहिरी स्वरूपको व्यवस्थापन महानगरले गर्नेगरी सहमति भएको बताए। उनका अनुसार बाहिरी संरचनासम्बन्धी सम्पूर्ण आर्थिक दायित्व महानगरले नै वहन गर्नेछ भने पार्किङ र सुरक्षाको काम तत्काल अघि बढाइनेछ।
मन्त्री इङ्नामले महानगरको मागअनुसार धरहराको पूर्ण व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र सो समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याललगायत सम्बन्धित निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।