२०८३ साउन १२ मंगलबार

तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, नियामकीय प्रावधान उल्लंघन

ई आर्थिक    आइतबार, फाल्गुन ३ २०८२
2.5K
Shares
तीन वाणिज्य बैंकमाथि राष्ट्र बैंकको कारबाही, नियामकीय प्रावधान उल्लंघन

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय प्रावधान उल्लंघन गरेको भन्दै तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। कारबाहीमा पर्ने बैंकहरूमा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेका छन्।

राष्ट्र बैंकका अनुसार ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०८२ ले बैंकले कर्जा नोक्सानी व्यवस्था, कर्जा पुनरतालिकीकरण तथा पुनर्संरचना सम्बन्धी प्रावधान पूर्णरूपमा पालना नगरेको देखाएको छ। साथै, कोर बैंकिङ सफ्टवेयरमा चुक्ता भइसकेको कर्जालाई पुरानै भ्यालु डेट राखेर पुनः सिर्जना गर्न सकिने अवस्था रहेको पाइएपछि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) अनुसार सचेत गराइएको छ।

त्यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले कर्जासम्बन्धी कागजातमा ग्राहकको सहीछाप नलिएको, सुरक्षणभन्दा बढी कर्जा प्रवाह गरेको, एउटै प्रकारका कर्जामा २ प्रतिशतभन्दा बढी ब्याजदर फरक कायम गरेको तथा त्रैमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएको छ। उक्त विषयमा बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई ऐनको दफा १००(२)(क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

यसैबीच, एनआईसी एसिया बैंकले राष्ट्र बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा लिखित आदेशको पालन नगरेको ठहर गरिएको छ। सोही आधारमा तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(ग) अनुसार जनही दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकले वित्तीय अनुशासन कायम गर्न तथा बैंकिङ क्षेत्रलाई पारदर्शी र व्यवस्थित बनाउन अनुगमन तथा कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij