सर्लाही। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सर्लाहीमा एक सातासम्म विदेशी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय सर्लाही मलङ्गवामा शुक्रबार सुरक्षा अधिकारी र राजनीतिक दलका प्रतिनिधिसहित बसेको बैठकले फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नदिने निर्णय गरेको हो।
निर्णयविपरीत सो अवधिमा विदेशी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रशासनले जनाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको कार्यालयले स्पष्ट पारेको छ। सर्लाहीसहित मधेश क्षेत्रमा भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारी साधनको प्रयोग बढी हुने गरेको छ।
बैठकमा निर्वाचन आचारसंहिता, २०८२ जिल्लास्थित सबै राष्ट्रसेवक र राजनीतिक दलले इमान्दारीपूर्वक पालना गर्ने सहमति भएको छ। प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया का अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै दलले प्रशासनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका–१ स्थित कृषि सेड मिर्जा हथिऔल मतदान केन्द्रमा सुरक्षित भौतिक पूर्वाधार नभएको भन्दै जिल्ला सुरक्षा समितिले वडाध्यक्ष तथा सरोकारवालासँग छलफल गरी आवश्यक निर्णय गर्ने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी कडरिया, मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया तथा सुरक्षा निकाय प्रमुखहरूको छुट्टै बैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउने र निर्वाचनलाई भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पार्ने निर्णय गरेको प्रशासनले जनाएको छ।