२०८३ साउन १२ मंगलबार

मुलुकलाई अप्ठ्यारो अवस्थाबाट अघि बढाउने प्रमुख माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
1.5K
Shares
मुलुकलाई अप्ठ्यारो अवस्थाबाट अघि बढाउने प्रमुख माध्यम निर्वाचन : कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचन आवधिक नभई अत्यावश्यक भएकाले तोकिएकै मितिमा सम्पन्न गरिने बताएका छन्। उनले सबै प्रकारका चुनौती पार गर्दै निर्वाचन सम्पन्न गर्ने अवस्थामा आयोग पुगेको स्पष्ट पारे।

शुक्रबार काठमाडौंमा निर्वाचन आयोग ले आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचन आयोग एक्लैले मात्र चुनाव सम्पन्न गर्न नसक्ने बताए। सरकार, राजनीतिक दल, सञ्चार क्षेत्रसहित सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको उनको भनाइ थियो।

‘यो आवधिक निर्वाचन होइन, अग्रिम र अत्यावश्यक निर्वाचन हो। नगरी नहुने निर्वाचन हो,’ भण्डारीले भने, ‘मुलुकका सबै पक्ष लागेर निर्वाचन सम्पन्न गर्नुपर्छ।’

उनले विभिन्न चुनौतीका बीच निर्वाचनको वातावरण बनेको उल्लेख गर्दै त्यसलाई जोगाइराख्न सबैले जिम्मेवार हुनुपर्ने बताए। सरकार, आयोग, राजनीतिक दल तथा सञ्चार क्षेत्रले सहकार्य गरेर मतदानको वातावरण तयार पारेको उनको दाबी छ।

भण्डारीले अन्य मुलुकको उदाहरण दिँदै अस्थिरतापछि लामो समय निर्वाचन नहुँदा मुलुक अन्योलमा पर्ने अवस्था आउने बताए। नेपालले त्यस्तो अवस्था व्यहोर्न नसक्ने भन्दै उनले शान्ति, स्थिरता र विकासका लागि निर्वाचन अनिवार्य रहेको धारणा राखे।

‘निर्वाचन शान्ति, प्रगति, समृद्धि, स्वच्छता र निष्पक्षता ल्याउने माध्यम हो। सुशासन प्रवाह गरेर विकासको आधार तयार गर्ने प्रक्रिया पनि निर्वाचन नै हो,’ उनले भने।

समाजमा देखिएको असहिष्णुता र अव्यवस्थालाई सहिष्णुता र शान्तितर्फ डोर्‍याउन पनि निर्वाचन महत्वपूर्ण रहेको उनको भनाइ थियो। दलपिच्छेका फरक धारणा एक ठाउँमा ल्याएर निर्वाचनको वातावरण बनाउन आयोग सफल भएको उनले बताए।

भण्डारीले हाल बनेको स्वच्छ र सङ्लो निर्वाचन वातावरणलाई कसैले पनि बिगार्न नहुने चेतावनी दिँदै निर्वाचन नै मुलुकलाई अप्ठ्यारो अवस्थाबाट अघि बढाउने प्रमुख माध्यम भएको उल्लेख गरे।

निर्वाचन सामग्री जिल्ला पुग्न थाल्यो

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले बनाएको कार्यतालिकाअघि नै निर्वाचन सामग्री आयोगमा आइपुगेको जानकारी दिए। ती सामग्री जिल्ला–जिल्लामा पठाउन थालिएको उल्लेख गर्दै उनले मतदान अधिकृतहरूले तालिम लिनुअघि नै सामग्री बुझेर जाने वातावरण बनेको बताए।

‘अहिले निर्वाचनको सङ्लो र स्वच्छ वातावरण बनेको छ, यसलाई धमिलो बनाउने काम कसैले पनि गर्नु हुँदैन,’ उनले भने, ‘मुलुकलाई अप्ठ्यारो अवस्थाबाट चलायमान बनाउने माध्यम पनि निर्वाचन हो।’

उनले फागुन ४ गतेपछि राजनीतिक दल र उम्मेदवारलाई प्रचारप्रसारको समय तोकिएकाले आचारसंहिता उल्लङ्घन हुने सम्भावना बढ्ने भन्दै सञ्चारमाध्यम र पत्रकारलाई अझ सतर्क हुन आग्रह गरे।

९ लाखभन्दा बढी नयाँ मतदाता थपिए

भण्डारीले यस वर्ष निर्वाचनअघि करिब साढे नौ लाख नयाँ मतदाता थपिएको जानकारी दिँदै विगतका निर्वाचनमा यति ठूलो सङ्ख्यामा मतदाता थपिएको इतिहास नभएको बताए। राष्ट्रिय तथा अन्तरराष्ट्रिय पर्यवेक्षकले नकारात्मक सोचका साथ काम गरेमा त्यसबारे तथ्यपरक समाचार सम्प्रेषण गरेर खबरदारी गर्न पनि उनले सञ्चारमाध्यमलाई आग्रह गरे।

‘वाचडग’को भूमिका खेल्न सचिव कृष्णबहादुर राउतको आग्रह

आयोगका सचिव कृष्णबहादुर राउतले लोकतन्त्र र निर्वाचन एकअर्काका पूरक भएकाले आममतदातालाई निष्पक्ष, तटस्थ सूचना प्रवाह गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने विश्वास गरिएको बताए । निर्वाचनका समयमा हुने विभिन्न किसिमका बहसलाई प्रभावित गर्ने माध्यम पनि आमसञ्चारमाध्यम भएकाले ‘वाचडग’को भूमिका खेल्नुपर्नेमा उनले जोड दिए ।

निर्वाचनका विषयमा हुनसक्ने नकारात्मकता घटाएर विश्वसनीय रूपमा निर्वाचन सम्पन्न गराउन आमसञ्चारमाध्यम र पत्रकारले भूमिका खेल्नुपर्ने सचिव राउतको भनाइ छ । सही सूचना नपाउँदा आममानिस भ्रम र गुमराहमा पर्ने भएकाले आमसञ्चारमाध्यम एवं पत्रकारले सकारात्मक भएर काम गर्नुपर्नेमा उनले जोड दिए ।

विश्वसनीय सूचना आवश्यक : अध्यक्ष धर्मेन्द्र झा

राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष धर्मेन्द्र झा ले उन्नत लोकतन्त्रका लागि उन्नत निर्वाचन प्रणाली आवश्यक हुने बताउँदै मतदातालाई मतदान केन्द्रसम्म ल्याउने वातावरण बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने धारणा राखे। परिणाम सार्वजनिक नहुँदासम्म निर्वाचन प्रक्रियालाई पछ्याउनुपर्ने उनले बताए।

पत्रकारितामा दृष्टिकोण परिवर्तन आवश्यक

प्रेस काउन्सिल नेपालका अध्यक्ष डा कुमार शर्मा आचार्य ले समाचार लेख्दा सम्बन्धित व्यक्तिको स्थानमा बसेर सोच्न सके पत्रकारिताका धेरै समस्या समाधान हुने विश्वास व्यक्त गरे। सामाजिक सञ्जालले नकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले दृष्टिकोण परिवर्तनको आवश्यकता औँल्याए।

आयोगका निर्वाचन व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्रकुमार केसीले यस्ता कार्यक्रमले मतदाता सहभागिता बढाउने र गलत, भ्रामक तथा द्वेषपूर्ण सूचना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

दुई दर्जन बढीलाई मूख्य प्रशिक्षक प्रशिक्षण तालिम

कार्यक्रममा सहभागीहरुलाई मूख्य प्रशिक्षक प्रशिक्षण दिइएको थियो । पाँचवटा मूल विषयबस्तुलाई समेटर विभिन्न विधामा सहभागीहरुलाई प्रशिक्षणका साथै मतदाता शिक्षाका कार्ययोजना, निर्वाचन प्रक्रियामा संलग्न चुनौती र सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्ने रणनीतिहरूको व्यावहारिक तालिम पनि दिइएका थियो । उक्त प्रशिक्षण कार्यक्रममा विभिन्न सञ्चार गृहबाट उपस्थित दुई दर्जन बढीले प्रशिक्षण लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij