२०८३ साउन १२ मंगलबार

खाद्य कम्पनीद्वारा १ लाख ४४ हजार क्विन्टल धान खरिद, ११ केन्द्रमा प्रक्रिया स्थगित

ई आर्थिक    शुक्रबार, फाल्गुन १ २०८२
1.1K
Shares
खाद्य कम्पनीद्वारा १ लाख ४४ हजार क्विन्टल धान खरिद, ११ केन्द्रमा प्रक्रिया स्थगित

काठमाडौँ : खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले देशका विभिन्न १२ कार्यालयमार्फत हालसम्म एक लाख ४४ हजार क्विन्टल धान खरिद गरेको जनाएको छ। कम्पनीले गत कात्तिक ११ गते धनगढीबाट धान खरिद सुरु गरेको थियो।

कम्पनीका खरिद शाखा प्रमुख आनन्द पौडेलका अनुसार निर्धारित कोटा पूरा भएपछि ११ केन्द्रबाट धान खरिद कार्य स्थगन गरिएको छ। धनगढी, महेन्द्रनगर, भैरहवा, नेपालगन्ज, तुलसीपुर, राजापुर, बिर्तामोड, विराटनगर र पोखरालगायत केन्द्रमा कोटा अनुसार तथा केही स्थानमा कोटाभन्दा बढी धान खरिद भइसकेको छ।

हाल जनकपुर र वीरगन्ज केन्द्रबाट भने धान खरिद जारी रहेको कम्पनीले जनाएको छ। यस वर्ष लहानबाट धान खरिद गर्न नसकिएको जानकारी दिँदै पौडेलले लहानमा कम्पनीको कोटाभन्दा तेब्बर बढी परिमाण खरिद गर्नुपर्ने अवस्था आएपछि आर्थिक स्रोत अभावका कारण प्रक्रिया स्थगन गरिएको स्पष्ट पार्नुभयो।

कम्पनीले यस वर्षको लक्ष्यको ८१ प्रतिशत धान खरिद गरिसकेको छ। आगामी १० दिनमा सबै विवरण संकलन भएपछि यो परिमाण ८५–८६ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यका अनुसार दुई केन्द्रबाट मसिना धान खरिद गरिएको भए पनि जुटको बोरा अभावका कारण केही ढिलाइ भएको छ। जेनजी आन्दोलनका क्रममा लहानस्थित गोदाममा रहेका जुटका बोरा चोरी भएपछि अभाव सिर्जना भएको उहाँले बताउनुभयो। लहान केन्द्रले कोटा बढाउन माग गरे पनि कम्पनीसँग सो अनुसार खरिद गर्न सक्ने अवस्था नरहेकाले प्रक्रिया नै स्थगन गरिएको आचार्यको भनाइ छ।

कम्पनीले जुम्लाबाट मार्सी र पोखराबाट जेठोबुढो (उन्नत जात) धान खरिद गर्ने योजना बनाएको भए पनि आवश्यक परिमाणमा धान उपलब्ध नभएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।

चालु आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीले एक लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्यसहित ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत वर्ष सात लाख तीन हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखिए पनि निजी व्यापारीले समर्थन मूल्यभन्दा बढी मूल्य दिएर धान किनेपछि कम्पनीले लक्ष्यको आधा पनि खरिद गर्न सकेको थिएन। गत वर्ष एक लाख २० हजार क्विन्टल मात्र धान खरिद भएको थियो।

यस वर्ष भने निजी व्यापारीले समर्थन मूल्यभन्दा आठ सयदेखि एक हजार रुपैयाँसम्म कम मूल्यमा धान खरिद गरिरहेकाले कम्पनीलाई लक्ष्य हासिल गर्न सहज भएको जनाएको छ। कम्पनीले मोटो धान बजार मूल्यभन्दा औसत आठ सय रुपैयाँ र मध्यम धान छ सय रुपैयाँभन्दा बढी मूल्यमा खरिद गरेको जानकारी दिएको छ।

सरकारले चालु आवका लागि मोटो धानको समर्थन मूल्य प्रतिक्विन्टल ३,४६३ रुपैयाँ र मध्यम धानको प्रतिक्विन्टल ३,६२८ रुपैयाँ निर्धारण गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij