काठमाडौं । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि व्यक्तिगत तथा संस्थागत मुद्दति निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। पछिल्ला केही महिनादेखि निरन्तर घट्दै आएको निक्षेप ब्याजदर फागुनमा पनि घटेको देखिएको छ।
माघ महिनाको तुलनामा फागुनमा व्यक्तिगत मुद्दति निक्षेपको औसत अधिकतम ब्याजदर ४.६८ प्रतिशतबाट घटेर ४.५६ प्रतिशतमा झरेको छ। औसतमा ०.११५ प्रतिशत बिन्दुले दर घटेको हो। २० वाणिज्य बैंकमध्ये ९ बैंकले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् भने ११ बैंकले अघिल्लो महिनाकै दर कायम राखेका छन्।
व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ५.१ प्रतिशत ब्याज नेपाल बैंकले दिने भएको छ। सबैभन्दा कम ४.२५ प्रतिशत ब्याजदर स्ट्याण्डर्ड चार्टर्ड, कृषि विकास बैंक, प्राइम कमर्सियल, नेपाल एसबिआई, एभरेष्ट र सिद्धार्थ बैंकले निर्धारण गरेका छन्।
ग्लोबल आइएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ०.७५ प्रतिशत बिन्दुले दर घटाउँदै ५.५ प्रतिशतबाट ४.७५ प्रतिशतमा झारेको छ।
संस्थागत मुद्दति निक्षेपतर्फ पनि औसत अधिकतम ब्याजदर ३.३८ प्रतिशतबाट घटेर ३.३३ प्रतिशतमा सीमित भएको छ। अधिकतम ४ प्रतिशत ब्याजदर हिमालयन बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैंकले निर्धारण गरेका छन्।
बैंकिङ प्रणालीमा तरलता सहज रहनु, कर्जा माग अपेक्षाकृत कमजोर हुनु तथा नीतिगत सहजताका कारण ब्याजदर घट्दो क्रममा रहेको विश्लेषण गरिएको छ। ब्याजदर घट्दा कर्जाग्राहीलाई राहत मिल्ने भए पनि निक्षेपकर्ताको प्रतिफल भने थप घट्ने देखिएको छ।