२०८३ साउन १० आइतबार

ईएफटी कार्ड सेवामार्फत नेपालपे कार्ड इनेबल गर्ने पहिलो बैंक बन्यो सिटिजन्स बैंक इन्टरनेसनल

ई आर्थिक    बुधबार, माघ २८ २०८२
2.8K
Shares
ईएफटी कार्ड सेवामार्फत नेपालपे कार्ड इनेबल गर्ने पहिलो बैंक बन्यो सिटिजन्स बैंक इन्टरनेसनल

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनलले  पहिलो ईएफटी कार्ड सेवामार्फत नेपालपे कार्ड सक्षम गर्ने बैंक बनेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ईएफटी कार्ड स्विच तथा सेवामार्फत नेपालपे कार्डको भुक्तानी सक्षम गर्ने सम्बन्धमा सम्झौता भएको छ। एक औपचारिक कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरेका हुन्।

यससँगै सिटिजन्स बैंक नेपालपे कार्डको अधिग्रहण (अक्वाइरिङ) तथा जारी (इस्यूइङ) का लागि ईएफटी कार्ड स्विचमा औपचारिक रूपमा आबद्ध हुने पहिलो ईएफटी सदस्य बैंक बनेको छ।

एनसीएचएलको ईएफटी स्विच राष्ट्रिय कार्ड स्विच (एनपिएस) सँग एकीकृत भइसकेको छ। उक्त सम्झौतापछि सिटिजन्स बैंकले आफ्ना ग्राहकलाई नेपालपे कार्ड जारी गर्न तथा सो कार्डमार्फत भुक्तानी स्वीकार गर्न सक्नेछ। पहिलो चरणमा बैंकले आफ्ना १६८ वटा एटीएम र ४९१ वटा पीओएस टर्मिनलमार्फत नेपालपे कार्डको अधिग्रहण सेवा सुरु गर्नेछ भने क्रमशः ग्राहकलाई कार्ड जारी गर्ने जनाएको छ।

एनसीएचएलले हालै नेपालपे कार्डको व्यावसायिक कार्यान्वयन सुरु गरिसकेको छ। अन्तर्राष्ट्रिय सञ्जाल ‘डिस्कभर’ सँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। राष्ट्रिय भुक्तानी स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्ड नेपाल तथा विदेशस्थित एटीएम र पीओएस टर्मिनलमा प्रयोग गर्न सकिनेछ। साथै अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

एनसीएचएलको ईएफटी सेवामार्फत हाल १० वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड योजना प्रशोधन गर्दै आएका छन्। ईएफटी र राष्ट्रिय भुक्तानी स्विचबीचको एकीकरणपछि अब नेपालपे कार्डसमेत प्रशोधन गर्न सकिने भएको छ। अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूले पनि नेपालपे कार्ड अधिग्रहण तथा जारी गर्ने तयारी गरिरहेका छन्। हालसम्म नेपालपेमा ३४ भन्दा बढी बैंक तथा वित्तीय संस्था आबद्ध भई कार्यान्वयनका विभिन्न चरणमा रहेका छन्।

नेपालका अग्रणी बैंकमध्ये एक सिटिजन्स बैंक इन्टरनेसनलले हाल १८ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले पछिल्लो समय डिजिटल प्रविधितर्फ केन्द्रित भई आन्तरिक प्रणाली तथा ग्राहक सेवामा तीव्र रूपान्तरण गरिरहेको जनाएको छ। देशभर बैंकका १९७ शाखा, ३ विस्तारित काउन्टर, ७४ शाखारहित बैंकिङ सेवा तथा १६२ एटीएम सञ्चालनमा छन्। बैंकका हाल ४ लाखभन्दा बढी कार्डधारक ग्राहक रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij