२०८३ साउन १२ मंगलबार

एभरेस्ट चिनी मिलले उखु भुक्तानी सुरु गर्‍यो, किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँ

ई आर्थिक    मंगलबार, माघ २७ २०८२
1.4K
Shares
एभरेस्ट चिनी मिलले उखु भुक्तानी सुरु गर्‍यो, किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँ

बर्दीबास । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्र भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो।

गत वर्ष (२०८१/८२) को तुलनामा यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल २५ रुपियाँले वृद्धि भएको हो। अघिल्लो सिजनमा एभरेस्ट चिनी मिलले प्रतिक्विन्टल ५८५ रुपियाँका दरले भुक्तानी गरेको थियो।

उखुको मूल्यसम्बन्धी आन्दोलनका कारण करिब एक महिना ढिलो पुस ७ गतेदेखि क्रसिङ सुरु गरेको मिलले सोमबार बिहान १० बजेसम्म १८ लाख ६ हजार ७०० क्विन्टल उखु क्रसिङ गरिसकेको जनाएको छ। तीमध्ये माघ २० गतेसम्म खरिद गरिएका १६ लाख ४६ हजार क्विन्टल उखुको ९३ करोड ५५ लाख ४८ हजार रुपियाँ भुक्तानी भइसकेको एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले जानकारी दिनुभयो।

भुक्तानीको पाँचौँ चरणअन्तर्गत सोमबार ३ हजार ४२२ जना किसानको खातामा २२ करोड ५६ लाख रुपियाँ जम्मा गरिएको उहाँले बताउनुभयो। यसअघि मिलले पुस १६, पुस २३, माघ ४ र माघ १३ गते गरी विभिन्न चरणमा भुक्तानी गरिसकेको छ।

वित्तीय महाप्रबन्धक ठाकुरका अनुसार छैटौँ चरणअन्तर्गत माघ २९ गतेसम्म खरिद गरिएका उखुको भुक्तानी गर्ने तयारी भइरहेको छ। बीचमा शनिबार र शिवरात्रि परेकाले फागुन ४ गते छैटौँ किस्ताको रकम निकासा हुने सम्भावना रहेको उहाँले बताउनुभयो। बिदाको दिनबाहेक उखु खरिद गरेको प्रत्येक १० दिनभित्र भुक्तानी गर्ने नीति अनुसार किसानको खातामा नियमित रूपमा रकम जम्मा भइरहेको उहाँको भनाइ छ।

एभरेस्ट चिनी मिलको नियमित भुक्तानी प्रणालीलाई उखु किसानहरूले सकारात्मक रूपमा लिएका छन्। उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले उखुको उचित समर्थन मूल्य निर्धारण नगरेको अवस्थामा पनि मिलले समयमै भुक्तानी दिनु स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभयो।

“विगतका वर्षमा किसानले भुक्तानी पाउन वर्षौँ कुर्नुपरेको पीडा अझै ताजा छ। मूल्यले निरास पारे पनि नियमित भुक्तानी प्रणालीले किसानलाई केही राहत दिएको छ,” उहाँले भन्नुभयो।

गत वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ५६५ रुपियाँमा २० रुपियाँ थप गरी ५८५ रुपियाँ तोकेको थियो। साथै ७० रुपियाँको अनुदान घटाएर ३५ रुपियाँमा झारेपछि किसानले देशव्यापी आन्दोलन गरेका थिए। आन्दोलनपछि अनुदान पुनः ७० रुपियाँ कायम गरिए पनि किसानले माग गर्दै आएको प्रतिक्विन्टल ७५० रुपियाँ समर्थन मूल्यभन्दा कम दर तोकिएकाले असन्तुष्टि कायमै रहेको कुशवाहाले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij