२०८३ साउन ९ शनिबार

इरानसँग व्यापार गर्ने देशमाथि अतिरिक्त ‘ट्यारिफ’को चेतावनीयुक्त कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

ई आर्थिक    आइतबार, माघ २५ २०८२
3K
Shares
इरानसँग व्यापार गर्ने देशमाथि अतिरिक्त ‘ट्यारिफ’को चेतावनीयुक्त कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि अतिरिक्त ट्यारिफ लगाउन सकिने बताएका छन्। शुक्रवार हस्ताक्षर गरिएको कार्यकारी आदेशमा उक्त घोषणा गरिएको छ।

उक्त आदेशमा ट्यारिफको निश्चित दर तोकिएको छैन तर उदाहरणका रूपमा २५% उल्लेख गरिएको छ।उक्त आदेश “प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा इरानबाट कुनै पनि वस्तु वा सेवा किन्ने, आयात गर्ने वा अन्य कुनै माध्यमबाट प्राप्त गर्ने” कुनै पनि देशबाट अमेरिकामा आयात हुने वस्तुमा लागु हुने भनिएको छ।

ट्रम्पले उक्त आदेशबारे प्रत्यक्ष टिप्पणी गरेका छैनन् तर शुक्रवार राति एअर फोर्स वनमा बोल्ने क्रममा इरानसँग “परमाणु हतियार हुन नहुनेमा” जोड दिए।

वरिष्ठ अमेरिकी र इरानी अधिकारीबीच ओमानमा अप्रत्यक्ष वार्ता चल्दै गर्दा ट्रम्पले उक्त कदम चालेका हुन्। त्यसअघि केही हप्तासम्म दुवै देशले एकअर्कालाई धम्कीहरू दिएका थिए।

नयाँ आदेशको अर्थ

यो वर्षको सुरुवातमा पनि ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि २५% ट्यारिफ लगाउने चेतावनी दिएका थिए। ट्रूथ सोशलमा १२ जनवरीमा उनले लेखे : “इरानसँग व्यापार गर्ने कुनै पनि देशले अमेरिकासँग हुने सबै कारोबारमा २५% ट्यारिफ तिर्नुपर्ने छ। यो तत्काल लागु हुन्छ।”

त्यसबेला उक्त ट्यारिफ कार्यान्वयन हुने तरिकाबारे कुनै विवरण दिइएको थिएन।

ह्वाइट हाउसले शुक्रवार हस्ताक्षर गरिएको नयाँ कार्यकारी आदेशले “इरानसँग सम्बन्धित अहिलेको राष्ट्रिय सङ्कटकाल” लाई पुन: पुष्टि गरेको र परिस्थिति बदलिएमा राष्ट्रपतिले त्यसलाई परिमार्जन गर्न सक्ने जनाएको छ।

त्यसमा भनिएको छ : “राष्ट्रपतिले परमाणु क्षमता हासिल गर्ने प्रयास, आतङ्कवादको समर्थन, बलिस्टिक क्षेप्यास्त्रको विकास र क्षेत्रीय अस्थिरताका निम्ति इरानलाई जिम्मेवार ठहर्‍याइरहेका छन् जसले अमेरिकी सुरक्षा, सहयोगी र हितहरूमा खतरा पुर्‍याउँछ।”

वार्ता प्रयास

अमेरिकी र इरानी अधिकारीहरूबीच शुक्रवारदेखि ओमानमा सुरु भएको कुराकानी अमेरिकाले गएको जुन महिनामा इरानका तीन मुख्य परमाणु केन्द्रमा बम हानेयताको पहिलो छलफल हो।

इरानी प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री अब्बास अराघ्चीले गरेका छन् भने अमेरिकाको प्रतिनिधित्व विशेष दूत स्टीभ विट्कफ र ट्रम्पका ज्वाइँ ज्यारेड कूश्नरले गरे।

पत्रकारहरूसँग बोल्दै ट्रम्पले शुक्रवारको वार्ता “धेरै राम्रो” भएको बताए। त्यस्तै उनले इरान “सम्झौताका निम्ति अत्यन्तै इच्छुकझैँ देखिएको” पनि उल्लेख गरे।

“उनीहरूले सम्झौता गरेनन् भने परिणामहरू धेरै गम्भीर हुने छन्,” उनले थपे। ट्रम्पले आउँदो साता अर्को बैठक हुने पनि बताए।

वार्ताको मध्यस्थता गरेका ओमानका विदेशमन्त्री बदर अलबूसेदीले ती छलफलहरू “दुवै पक्षको सोच बुझ्न र सम्भावित प्रगतिका क्षेत्रहरू पहिचान गर्न उपयोगी” भएको बताएका छन्।

त्यस्तै सामाजिक सञ्जाल एक्समार्फत् दिइएको वक्तव्यमा अराघ्चीले दुई देशका प्रतिनिधिमण्डलबीच भएको कुराकानीलाई “राम्रो सुरुवात” भन्दै “सकारात्मक वातावरण कायम रहेको” बताएका छन्।

उनले वार्ताकारहरू थप परामर्शका निम्ति आआफ्ना राजधानी फर्किसकेका पनि उल्लेख गरे।

अमेरिका र इरानबीच बढ्दो तनावले दुबै देशबीच सङ्घर्षको त्रास बढाएको छ। ट्रम्पले बुधबारमात्रै इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेई [विकसित परिस्थितिबारे] “धेरै चिन्तित” हुनुपर्ने वक्तव्य दिए।

राष्ट्रपति ट्रम्पले इरानले आफ्नो परमाणु कार्यक्रममा सम्झौता नगरेको खण्डमा उनी उक्त मध्यपूर्वी राष्ट्रमाथि आक्रमण गर्न तम्तयार रहेको बताएका छन्।

इरानले भने आफ्नो परमाणु कार्यक्रम विशुद्ध शान्तिपूर्ण भएकोमा जोड दिइरहेको छ। साथै उसले अमेरिका र उसका सहयोगीहरूद्वारा तारन्तार लगाइएका परमाणु हतियार विकास गर्न खोजेको आरोपलाई बारम्बार अस्वीकार गरेको छ।

अमेरिकाले उक्त क्षेत्रमा सैन्य उपस्थिति बढाएको छ। त्यसमा ट्रम्पले भनेझैँ “लडाकु पानीजहाजहरूको विशाल समूह” पनि सामेल छ। ट्रम्पका अनुसार उक्त कदम गत महिना इरानमा भएको देशव्यापी विरोध प्रदर्शनमा भएको दमनको प्रतिक्रियास्वरूप चालिएको हो।

उक्त दमनका क्रममा हजारौँ मानिसहरू मारिएका मानवाधिकारवादी समूहहरूले बताएका छन्। तर सरकारले ज्यानुअरी ८ देखि इन्टरनेट काटिदिएका कारण त्यसको पूर्ण आँकडा थाहा हुन नसकेको समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij