काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन्। प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार उनलाई २०८२।१०।२३ मा मन्त्रालयले नियुक्ति पत्र जारी गरी जिम्मेवारी प्रदान गरेको हो।
नवनियुक्त डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियरिङ्गमा स्नातक गरेको र २०५१ जेठ १ देखि तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदबाट सेवा सुरुवात गरेकी हुन्। २०५२ जेठ ९ मा स्थायी नियुक्ति पाएकी उनले २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशकको जिम्मेवारी पनि सम्हाल्दै प्रादेशिक निर्देशनालय विराटनगर, काठमाडौं, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको नेतृत्व गरिसकेकी छन्। हाल डंगोल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन्।
पदभार ग्रहण गर्दै डंगोलले आफूमाथि सरकारले देखाएको विश्वासको कदर गर्दै कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउन र सार्वजनिक दायित्व तथा प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलनमा अघि बढाउने योजना रहेको बताइन्।
त्यसैगरी उनले कर्मचारीहरुलाई आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यसाथ अगाडि बढ्न आह्वान पनि गरेकी छन्।