पोखरा । रोयल इन्फिल्डले आफ्नो लोकप्रिय सडक उपयोगका लागि तयार पारिएको मोटरसाइकल हन्टर ३५० पोखरामा सार्वजनिक गर्दै गण्डकी प्रदेशका ग्राहकका लागि आधिकारिक रूपमा उपलब्ध गराएको छ। काठमाडौँमा सफल रूपमा सार्वजनिक गरेपछि कम्पनीले पोखरास्थित शोरूममार्फत परीक्षण सवारी तथा बुकिङ कार्यक्रम सुरु गरेको हो।
विश्वका शहरी जीवनशैलीबाट प्रेरित रङ, सुधारिएको सस्पेन्सन र सहज शारीरिक अनुकूल डिजाइनसहितको बीएस–सिक्स हन्टर ३५० (२०२५ संस्करण) पोखराका शहरी तथा पहाडी सडक दुवैका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।
मोटरसाइकलमा स्लिप असिस्ट क्लच, १६० मिलिमिटर ग्राउण्ड क्लियरेन्स, डुअल च्यानल एबीएस, एलईडी हेडलाइट, सुधारिएको सिट तथा ट्रिप नेभिगेटर जस्ता सुविधा समावेश गरिएको छ। यसमा प्रयोग गरिएको ३४९ सीसी क्षमताको जे–सिरिज इन्जिनले दैनिक सवारीका क्रममा चुस्त र आरामदायी अनुभव प्रदान गर्ने बताइएको छ। सन् २०२२ देखि हालसम्म विश्वभर ७ लाखभन्दा बढी चालकहरूले यो मोडेल रोजिसकेका छन्।
रोयल इन्फिल्डका निर्देशक मेघराज पौडेलका अनुसार, “पोखरा जस्तो पर्यटन र साहसिक यात्राले भरिएको सहरका लागि हन्टर ३५० अत्यन्त उपयुक्त मोडेल हो। यहाँको शहरी जीवनशैली र पहाडी सडक दुवैमा सहज र रमाइलो सवारी अनुभव दिने विश्वास लिएका छौँ। गण्डकी प्रदेशका चालकहरूसँग अझ नजिकिन पाउँदा हामी उत्साहित छौँ।”
हन्टर ३५० को मूल्य: दुई रङ संयोजन — रु ४,९९,९०० तथा एकल रङ — रु ४,९४,९०० रहेको छ । पोखरास्थित रोयल इन्फिल्ड शोरूममा टेस्ट–राइड र बुकिङ उपलब्ध रहेको छ।
रोयल इन्फिल्ड सन् १९०१ देखि उत्पादनमा रहेको संसारकै सबैभन्दा पुराना मोटरसाइकल ब्रान्डमध्ये एक हो। ‘शुद्ध मोटरसाइकलिङ’ दर्शनका साथ कम्पनीले मध्यम क्षमताका प्रिमियम मोटरसाइकल उत्पादनमा विश्वव्यापी पहिचान बनाएको छ। ब्रान्डका प्रमुख मोडेलहरूमा हन्टर ३५०, क्लासिक ३५०, मेटिओर ३५०, हिमालयन ४५०, इन्टरसेप्टर ६५० लगायतका सिरिज समावेश छन्।
आइचर मोटर्स लिमिटेड अन्तर्गत सञ्चालन हुने रोयल इन्फिल्डले भारतभर २ हजारभन्दा बढी विक्री केन्द्र तथा विश्वका ६५ भन्दा बढी देशमा सेवा विस्तार गरेको छ। कम्पनीका उत्पादन केन्द्रहरू भारतमा रहेका छन् भने नेपालसहित विभिन्न देशमा सीकेडी संयोजन सुविधा सञ्चालनमा छन्।