मोरङ । मोरङको रंगेलीबाट नक्कली नेपाली रुपैयाँसहित एक जनालाई प्रहरीले मंगलबार राति पक्राउ गरेको छ।
रंगेली नगरपालिका–२ का ४५ वर्षीय सहमद हुसेनलाई नक्कली एक हजार दरका नोटसहित पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। प्रहरीका अनुसार हुसेनले नवीन पुरीले सञ्चालन गरेको डिस्टिलरी पसलमा रेडबुल खरिद गर्दा र उज्वल ढकालले सञ्चालन गरेको किराना पसलमा उधारो रकम तिर्दा नक्कली नोट प्रयोग गरेका थिए।
दिएको नोट शंकास्पद देखिएपछि पसल सञ्चालकहरूले प्रहरीलाई खबर गरेका थिए। सूचनापछि पुगेको प्रहरी टोलीले हुसेनलाई नियन्त्रणमा लिएको थियो। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा गरिएको प्रारम्भिक सोधपुछका क्रममा हुसेनले घरमा समेत नक्कली नोट राखिएको खुलाएपछि प्रहरीले मंगलबार राति करिब ८ बजे उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा हुसेनले प्रयोग गर्दै आएको प्रदेश १–०१–००४ ह ६३७ नम्बरको सिटी सफारीको चालक सिट पछाडिको डिकीबाट एक हजार दरका दुई वटा नक्कली नोट फेला परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए। साथै हुसेनकै साथबाट पनि अर्को एक थान नक्कली नोट बरामद गरिएको छ।
पसलमा प्रयोग गरिएका, साथबाट फेला परेका र सिटी सफारीमा भेटिएका गरी जम्मा पाँच थान नक्कली नेपाली नोट बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका हुसेनलाई हाल इलाका प्रहरी कार्यालय रंगेलीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
प्रहरीले नक्कली नोटको कारोबारमा संगठित गिरोह संलग्न हुन सक्ने आशंका गर्दै घटनाबारे विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।