काठमाडौं । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा ‘युवराज सफल’ भनेर चिनिने युवराज पौडेल पक्राउ परेका छन्।
महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गरी विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्द तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोपमा पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको हो।
महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते पौडेलविरुद्ध आवश्यक कानुनी कारबाही गर्न माग गर्दै प्रहरीलाई पत्राचार गरेको थियो। पत्र प्राप्त भएपछि पनि उनले महान्यायाधिवक्ता र कार्यालयको विषयमा तथ्यहीन सामग्री समावेश गरी भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पौडेललाई काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।