२०८३ साउन १० आइतबार

निर्वाचन ४३ दिन बाँकी : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

ई आर्थिक    बुधबार, माघ ७ २०८२
1.5K
Shares
निर्वाचन ४३ दिन बाँकी : आज उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ।

आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ। सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ।

उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन्। निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेका छन्।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए। उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन्। यस्तै अपांगता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij