२०८३ साउन १२ मंगलबार

पुससम्म ४७५ उद्योगमा ३९ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा ठूलो हिस्सा

ई आर्थिक    आइतबार, माघ ४ २०८२
3.5K
Shares
पुससम्म ४७५ उद्योगमा ३९ अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता, कृषिमा सबैभन्दा ठूलो हिस्सा

काठमाडौं : चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालका ४७५ उद्योगमा ३९ अर्ब २३ करोड ६१ लाख ६४ हजार रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार पुस महिनासम्म उक्त लगानी प्रतिबद्धता प्राप्त भएको हो।

यसअघि असोज महिनासम्म ३११ उद्योगमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। पछिल्ला तीन महिनामा उद्योग संख्या र लगानी रकम दुवैमा उल्लेख्य वृद्धि देखिएको विभागले जनाएको छ।

विभागका अनुसार हालसम्म कुल ७ हजार ७१३ उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड ३३ लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता पुगेको छ। चालू आवमा प्राप्त प्रतिबद्धतामध्ये ७ वटा ठूला, ८ वटा मध्यम र ४६० वटा साना उद्योग रहेका छन् ।

पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा ५ अर्ब ९९ करोड ५० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। क्षेत्रगत रूपमा उद्योग संख्याका आधारमा सूचना प्रविधिमूलक (आईटी) क्षेत्र अग्रस्थानमा रहेको छ।

रकमका आधारमा कृषिमा अग्रता

लगानी रकमका आधारमा भने कृषिमूलक क्षेत्र सबैभन्दा अगाडि देखिएको छ। कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

त्यसैगरी, सूचना प्रविधिमूलक २५७ उद्योगमा १ अर्ब ७ करोड ८४ लाख ८६ हजार रुपैयाँ, पर्यटनमूलक १४५ उद्योगमा १० अर्ब ५४ करोड २० लाख ५० हजार रुपैयाँ र उत्पादनमूलक २७ उद्योगमा २ अर्ब ३ करोड २३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ।

ऊर्जामूलक क्षेत्रको एक उद्योगमा १८ करोड ४२ लाख ५० हजार रुपैयाँ, खनिज क्षेत्रको एक उद्योगमा ४ करोड ५० लाख रुपैयाँ तथा सेवामूलक ३१ उद्योगमा ३ अर्ब ४६ करोड ६० लाख रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij