काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा काठमाडौंको एलिस रिसेप्सनमा सम्पन्न गरेको छ। सभाको अध्यक्षता बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेले गरेका थिए भने शेयरधनीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
सभामा बैंकको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरण प्रस्तुत गरी आवश्यक छलफल गरिएको थियो।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ३३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। स्रोत परिचालनको हिसाबले बैंकको कुल निक्षेप ६९ अर्ब ४८ करोड रुपैयाँले बढेर ४ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २० अर्ब ८४ करोड रुपैयाँले वृद्धि भई कुल कर्जा तथा सापटी रकम ३ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ।
त्यसैगरी, बैंकको लगानी ३५ अर्ब ८७ करोड रुपैयाँले बढ्दै १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ रहेको छ भने कुल शेयरधनी कोष ६४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।
हाल बैंकले देशभर २७१ शाखा, २५९ एटीएम, ६५ एक्सटेन्सन काउन्टर तथा ६० शाखारहित बैंकिङ सेवामार्फत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।