काठमाडौं। नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य तीव्र रूपमा बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। यसअघि आइतबार र पुस १३ गते सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भई उच्च मूल्य कायम भएको थियो।
आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ४ हजार १ सय रुपैयाँले बढेको महासंघले जनाएको छ।
यस्तै, चाँदीको मूल्य पनि नयाँ रेकर्डमा पुगेको छ। सोमबार चाँदी प्रतितोला ५ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ। यो मूल्य पनि नेपाली बजारमा अहिलेसम्मकै उच्च हो।
यसअघि आइतबार चाँदी प्रतितोला ४ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो। आइतबारको तुलनामा सोमबार चाँदीको मूल्य प्रतितोला २ सय ५ रुपैयाँले वृद्धि भएको हो।