२०८३ साउन १२ मंगलबार

भेनुजुयला आक्रमण काण्डले ट्रम्पको नोबेल शान्ति पुरस्कार गुम्ने खतरा

ई आर्थिक    आइतबार, पौस २७ २०८२
4.9K
Shares
भेनुजुयला आक्रमण काण्डले ट्रम्पको नोबेल शान्ति पुरस्कार गुम्ने खतरा

काठमाडौं । नर्वेली नोबेल पुरस्कार समितिले नोबेल शान्ति पुरस्कार हस्तान्तरण गर्न, बाँड्न वा फिर्ता लिन नमिल्ने स्पष्ट पारेको छ।

भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना माचादोले आफूले प्राप्त गरेको सन् २०२५ को नोबेल शान्ति पुरस्कार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दिन सक्ने आशय व्यक्त गरेपछि समितिको यस्तो प्रतिक्रिया आएको हो।

समाचार संस्था रोयटर्सका अनुसार नर्वेली नोबेल समितिले विज्ञप्ति जारी गर्दै नोबेल पुरस्कार दिने निर्णय अन्तिम र स्थायी हुने जनाएको छ। नोबेल फाउन्डेसनको नियमावली उद्धृत गर्दै समितिले पुरस्कारसम्बन्धी निर्णयमा पुनरावेदनको कुनै व्यवस्था नभएको स्पष्ट पारेको छ।

समितिले पुरस्कार प्रदान भइसकेपछि विजेताले गर्ने गतिविधि वा सार्वजनिक अभिव्यक्तिबारे आफूहरूले कुनै टिप्पणी नगर्ने पनि जनाएको छ।

नर्वेली नोबेल समिति र नर्वेली नोबेल संस्थानले शुक्रबार जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “एक पटक नोबेल पुरस्कार घोषणा भएपछि त्यसलाई खारेज गर्न, बाँड्न वा अरू कसैलाई हस्तान्तरण गर्न सकिँदैन। यो निर्णय अन्तिम हो र सधैँका लागि कायम रहन्छ।”

गत सोमबार ‘फक्स न्यूज’ मा सन ह्यानिटीसँगको अन्तर्वार्तामा माचादोले ट्रम्पलाई पुरस्कार अर्पण गर्नु भेनेजुएली जनताका तर्फबाट कृतज्ञताको प्रतीक हुने बताएकी थिइन्। उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउन ट्रम्पले खेलेको भूमिकाको प्रशंसा गर्दै यस्तो सम्मान दिनुपर्ने तर्क गरेकी थिइन्।

अन्तर्वार्तामा ह्यानिटीले “के तपाईंले ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने प्रस्ताव गर्नुभएको हो?” भन्ने प्रश्न गरेपछि माचादोले “अहिलेसम्म त्यस्तो भइसकेको छैन” भनेर जवाफ दिएकी थिइन्।

लामो समयदेखि नोबेल शान्ति पुरस्कार पाउने इच्छा व्यक्त गर्दै आएका ट्रम्पले आगामी हप्ता वासिङ्टनमा हुने सम्भावित भेटघाटका क्रममा यदि माचादोले प्रस्ताव गरेमा पुरस्कार स्वीकार गर्न पाउनु आफ्नो लागि सम्मानको कुरा हुने बताएका छन्।

भेनेजुएलाको राष्ट्रिय सभाकी पूर्व सदस्य माचादोलाई मादुरो समर्थक अधिकारीहरूले सन् २०२४ को आम निर्वाचनमा उम्मेदवार हुन प्रतिबन्ध लगाएका थिए। उनको सट्टामा उभिएका उम्मेदवारले चुनाव जितेको मानिए पनि राष्ट्रपति मादुरोले आफ्नो जितको दाबी गरेका थिए।

स्वतन्त्र पर्यवेक्षकहरूले गरेको चुनावी लेखापरीक्षणले भने सरकारी नतिजामा अनियमितता देखिएको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij