ई–आर्थिक, काठमाडौं । मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले अब आफू पूर्णकालीन राजनीतिमा सक्रिय हुने घोषणा गरेका छन्। बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले आफ्नो राजनीतिक यात्रा अब औपचारिक रूपमा सुरु हुने बताएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका घिसिङले मन्त्रिमण्डलमा ११५ दिन काम गरेको स्मरण गराए। उनले भने, “आज मन्त्री पदबाट भर्खरै राजीनामा दिएर आएको छु। अब मेरो यात्रा राजनीतितर्फ हुनेछ। भोलिदेखि मेरो राजनीतिक जीवन सुरु हुन्छ।”
प्रधानमन्त्रीको विशेष अनुरोधमा मन्त्रीको जिम्मेवारी स्वीकार गरेको उल्लेख गर्दै उनले आफ्नो राजीनामालाई जिम्मेवारीबाट पन्छिएको रूपमा नबुझ्न आग्रह गरे। पदमा रहेर मात्र होइन, पदभन्दा बाहिर रहेर पनि देश र जनताको पक्षमा उभिन सकिने उनको भनाइ थियो। “कुर्सीभन्दा माथि आत्मसम्मान हुन्छ,” उनले भने।
घिसिङले आफ्नो दलीय आबद्धताबारे पनि स्पष्ट पारे। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति भए पनि हालसम्म औपचारिक रूपमा कार्यान्वयनमा नआएको र आफूले कुनै पनि दलको सदस्यता नलिएको उनले जानकारी दिए।
नेपालमा मन्त्री पदमै रहेर निर्वाचन लड्ने अभ्यास भए पनि आफूले पद त्याग गरेर अघि बढ्न चाहेको उनको भनाइ थियो। मन्त्रालय सम्हाल्ने क्रममा काम किन समयमै अघि बढ्न सक्दैन भन्ने कुरा नजिकबाट बुझ्ने अवसर पाएको भन्दै उनले छोटो समयमै भए पनि दीर्घकालीन कामको आधार तयार गरिएको दाबी गरे।
अन्त्यमा घिसिङले भने, “म पदबाट बाहिरिएको छु, तर जनताको पक्ष, राष्ट्रको हित र सत्यको बाटोबाट कहिल्यै बाहिरिने छैन।”