रसुवा । रसुवागढी नाका पुनः सञ्चालनमा आएपछि त्यहाँबाट विभिन्न वस्तुको आयात क्रमशः बढ्न थालेको छ । नाका खुलेसँगै चालु आर्थिक वर्षमै पहिलोपटक विद्युतीय सवारीसाधन नेपाल भित्रिन थालेका छन् ।
सीमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार शनिबार रसुवागढी नाकाबाट १८ वटा विद्युतीय सवारीसाधन (इभी माइक्रो) नेपाल प्रवेश गरेका छन् । आयात गरिएका सवारीसाधन हाल टिमुरेस्थित पार्किङ क्षेत्रमा राखिएका छन् भने आयातकर्ताबाट आवश्यक राजस्व दाखिला गर्ने प्रक्रिया जारी रहेको भन्सार कार्यालयले जनाएको छ ।
त्यसैगरी शनिबार मात्रै स्याउ, रेडिमेड कपडा, लसुन, सवारीसाधनका पार्टपुर्जा, ओखर, विद्युतीय ब्याट्री तथा औषधि सामग्री बोकेका ३९ वटा मालवाहक कन्टेनर नेपाल भित्रिएका छन् ।
भन्सार कार्यालयका अनुसार गत बिहीबारदेखि रसुवागढी नाका सञ्चालनमा आएयता शनिबारसम्म कुल ९६ वटा कन्टेनरमार्फत विभिन्न मालसामान आयात भइसकेको छ । रेडिमेड कपडाजस्ता सामग्रीको जाँचपास प्रक्रिया भने आइतबारदेखि सुरु हुने जनाइएको छ ।
भन्सार कार्यालयका प्रवक्ता ठाकुर गौतमले बिग्रन सक्ने प्रकृतिका स्याउ र ओखरजस्ता वस्तु प्राथमिकताका आधारमा छिटो जाँचपास भइरहेको जानकारी दिए । नाका पुनः सञ्चालन भएपछि दुई दिनको अवधिमा करिब ९० लाख रुपैयाँभन्दा बढी राजस्व संकलन भइसकेको पनि उनले बताए ।