काठमाडौंं । नेपाल प्रहरीले ६५ लाख भन्दा बढी चोरीको नगद तथा गरगहना सहित एक युवकलाई प्रकाउ गरेको छ ।
काठमाडौं महानगरपालिका–४, बलुवाटारस्थित स्टोर्म नेटवर्क प्रा.लि. र इको भ्याली प्रा.लि.मा भएको ठूलो रकमको चोरी प्रकरणमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति काठमाडौं महानगरपालिका–२, खुर्सीनिटार बस्ने २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्। उनले स्टोर्म नेटवर्क प्रा.लि.बाट रु. ४८,७२,६२० (अक्षरेपी अठचालीस लाख बहत्तर हजार छ सय बीस) तथा इको भ्याली प्रा.लि.बाट रु. ८,५८,५४१ (अक्षरेपी आठ लाख अन्ठाउन्न हजार पाँच सय एकचालीस) गरी कुल रु. ५७ लाखभन्दा बढी रकम चोरी गरेको प्रहरीले जनाएको छ।
मिति २०८२/०९/१२ गते राति चोरी गरी फरार रहेका के.सी.को खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर, दाङसँगको समन्वयमा जिल्ला दाङ, तुलसीपुर उपमहानगरपालिका–६ बाट उनलाई पक्राउ गरिएको हो।
पक्राउ परेका के.सी.को साथबाट नगद रु. ६५,१७,१४० (अक्षरेपी पैँसट्ठी लाख सत्र हजार एक सय चालीस), चाँदी जस्तो देखिने सेतो धातुको ब्रासलेट १५ थान, साना–ठूला चाँदी जस्ता देखिने सिक्का २८ थान, चाँदी जस्तो देखिने सेतो धातुको १ थान र डेल कम्पनीको १ थान ल्यापटप बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
यस घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।