२०८३ साउन १२ मंगलबार

आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम सङ्कटमा, उत्पादन ४० प्रतिशत घट्यो

ई आर्थिक    बुधबार, पौस १६ २०८२
1.9K
Shares
आत्मनिर्भर पोल्ट्री व्यवसाय चरम सङ्कटमा, उत्पादन ४० प्रतिशत घट्यो

चितवन : नेपालको एक मात्र आत्मनिर्भर मानिँदै आएको कुखुरापालन (पोल्ट्री) व्यवसाय यतिबेला गम्भीर सङ्कटमा परेको छ। व्यवसायीका अनुसार समग्र पोल्ट्री उत्पादनमा करिब ४० प्रतिशतसम्म गिरावट आएको छ। यही कठिन अवस्थाबीच पोल्ट्री व्यवसायीहरूले १३ औँ राष्ट्रिय पोल्ट्री दिवस मनाउँदै छन्।

नेपालमा आधुनिक कुखुरापालनको सुरुआत भएको पुस १७ गतेलाई विगत १२ वर्षदेखि राष्ट्रिय पोल्ट्री दिवसका रूपमा मनाइँदै आएको छ। विसं २०१७ साल पुस १७ गते बाराको पर्वानीपुरमा तत्कालीन सरकारको पहलमा सेन्ट्रल ह्याचरीको औपचारिक उद्घाटनसँगै आधुनिक पोल्ट्री व्यवसाय सुरु भएको थियो।

विश्वव्यापी कोभिड–१९ महामारीपछि निरन्तर धराशायी हुँदै आएको पोल्ट्री व्यवसायबाट सयौँ व्यवसायी पलायन भइसकेका छन्। नेपाल ह्याचरी उद्योग सङ्घका अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेका अनुसार यसअघि हप्तामा ४५ देखि ५० लाखसम्म उत्पादन हुँदै आएका ब्रोइलर चल्लाको उत्पादन हाल घटेर करिब ३० लाखमा सीमित भएको छ। त्यस्तै सातामा दुई लाखभन्दा बढी उत्पादन हुने लेयर्स चल्ला अहिले एक लाखदेखि एक लाख २० हजारमा झरेको छ।

देशभर रहेका करिब तीन सय ह्याचरीमध्ये दुई सयभन्दा बढी बन्द भइसकेका छन्। अन्डा उत्पादक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार कुनै समय दैनिक ६० लाख गोटा अन्डा उत्पादन हुने गरेकोमा अहिले मुस्किलले ३७ लाख गोटा मात्र उत्पादन भइरहेको छ। उहाँले बजारमा अन्डाको मूल्य बढेको देखिए पनि कृषकले भने लागत मूल्यसमेत नपाउने अवस्था रहेको बताउनुभयो।

दानाको कच्चा पदार्थमा आत्मनिर्भर हुने दिशामा नेपाल अघि बढिरहेको दाबी गर्दै दाना उद्योग सङ्घका अध्यक्ष उमेशचन्द्र सापकोटाले आगामी तीन वर्षमा भटमासबाहेक दानाका अधिकांश कच्चा पदार्थमा नेपाल आत्मनिर्भर बन्ने अपेक्षा व्यक्त गर्नुभयो। उहाँका अनुसार करिब १ खर्ब ६० अर्ब रुपैयाँ लगानी रहेको पोल्ट्री क्षेत्रमा वार्षिक १ खर्ब २५ अर्ब रुपैयाँ बराबरको उत्पादन हुन्छ भने करिब ४५ अर्ब रुपैयाँ बराबरको कच्चा पदार्थ आयात हुने गरेको छ। पछिल्ला वर्षहरूमा कच्चा पदार्थ आयात करिब ४५ प्रतिशतले घटेको अनुमान गरिएको छ।

नेपाल पोल्ट्री व्यवसायी मञ्चका महासचिव ज्ञानबहादुर विसुरालले पोल्ट्री क्षेत्रले अहिले ठूलो घाटा बेहोरिरहेको बताउनुभयो। “बाहिरबाट हेर्दा देखिने अवस्थाभन्दा वास्तविक अवस्था अझै भयावह छ,” उहाँले भन्नुभयो।

नेपाल कुखुरा व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार आत्मनिर्भर मानिएको यस क्षेत्रमा सयौँ रोजगारी गुमिसकेको छ। देशको कुल गार्हस्थ उत्पादनमा करिब २.९ प्रतिशत योगदान रहेको पोल्ट्री व्यवसायप्रति राज्य उदासीन देखिएको उहाँको आरोप छ। भट्टले कच्चा पदार्थ आयातमा छुट, अवैध चल्ला, मासु र अन्डाको आयातमा कडाइका साथ नियन्त्रण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

त्यस्तै, अत्यन्त संवेदनशील भ्याक्सिन आयातको व्यवस्था गर्न सरकारसँग माग गर्दै उहाँले आयात अनुमति नदिँदा व्यवसायी लुकिछिपी ल्याइएका भ्याक्सिन प्रयोग गर्न बाध्य भएको बताउनुभयो। “यो विषय सरकारलाई थाहा छ, तर वर्षौंदेखि आयात प्रतिबन्ध हटाउन चासो नदिइएको अवस्था छ,” उहाँले गुनासो गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij