काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य उल्लेख्य रूपमा बढ्दै हालसम्मकै उच्च स्तरमा पुगेको छ। दुबै बहुमूल्य धातुले अघिल्लो कीर्तिमान तोड्दै नयाँ रेकर्ड कायम गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले बढेको हो। यससँगै सुनको मूल्यले पुस ९ गते कायम भएको उच्च स्तरलाई समेत उछिनेको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि तीव्र रूपमा बढ्दै नयाँ कीर्तिमानमा पुगेको छ। शुक्रबार चाँदी तोलामा १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५६५ रुपैयाँमा किनबेच भइरहेको छ। यसले पनि पुस ९ गतेको उच्च मूल्यलाई पार गरेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
लगातारको मूल्यवृद्धिसँगै सुन र चाँदी दुवै नेपाली बजारमा हालसम्मकै महँगो अवस्थामा पुगेका छन्।