काठमाडौं । अरनिको राजमार्गको ईको (ECO) क्षेत्रमा देखिएको गम्भीर पहिरो जोखिम रोकथाम तथा व्यवस्थापनका लागि सडक डिभिजन चरिकोटले आज औपचारिक रूपमा टेण्डर सूचना प्रकाशित गरेको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध हुँदै आएको र स्थानीयले मार्ग नै रोक्न बाध्य भएको परिस्थितिमा सरकार पक्षबाट आवश्यक कदम तेज गतिमा अघि बढाइएको हो।
राजमार्ग खुलाउन र पहिरो व्यवस्थापनको काम त्वरित सुरुआत गर्न भौतिक, उर्जा तथा शहरी विकास मन्त्री कुलमान घिसिङ स्वयम् सक्रिय भएका छन्। उनले अवरुद्ध सडक छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन आवश्यक सबै प्रशासनिक तथा प्राविधिक प्रक्रिया तुरुन्त अघि बढाउन निर्देशन दिएको मन्त्रालय स्रोतले जनाएको छ।
स्थानीयवासीहरूको माग र पहिरोले जनजीवनमा परेको गम्भीर असरलाई मध्यनजर गर्दै मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई पहिरो रोकथाम तथा व्यवस्थापनसम्बन्धी टेण्डर प्रक्रिया तात्कालिक रूपमा सुरु गर्न आदेश दिएका हुन्।
मन्त्री घिसिङले दैनिक यातायात, आपूर्ति, आपतकालीन सेवा तथा सीमावर्ती क्षेत्रको आवागमनमा परेको अवरोधप्रति चिन्ता व्यक्त गर्दै सम्बन्धित निकायहरूलाई प्रभावकारी समन्वय गरेर राजमार्ग छिटोभन्दा छिटो सुचारु बनाउने निर्देशन दिएका थिए ।
उनका अनुसार पहिरो रोकथामका दीर्घकालीन समाधान र तत्काल राहत कार्य एकैसाथ अघि बढाइनेछ, जसले भविष्यमा राजमार्ग अवरुद्ध हुने जोखिमलाई न्यून बनाउन सहयोग गर्नेछ।
सरकारले अरनिको राजमार्ग खुलाउने कार्यलाई उच्च प्राथमिकता दिँदै टेण्डर प्रक्रिया तीव्र गतिमा अघि बढाइएको सडक डिभिजन चरिकोटले जनाएको छ।
