काठमाडौं । नेपाल सरकार र जापान सरकारबीच कोटेश्वर चोक सुधार आयोजनाको लागि ऋण सम्झौतामा हस्ताक्षर भएको छ राजधानीको कोटेश्वर इन्टरसेक्सन सुधार योजनालाई अघि बढाउन नेपाल सरकारले जापान अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) सँग ऋण सहायता सम्झौता गरेको हो ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच फ्लाइओभर तथा सुरुङमार्ग निर्माण सम्बन्धी ‘लोन एग्रिमेन्ट’ औपचारिक रूपमा सम्पन्न भयो ।
जाइकाले ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको ऋण सहायता उपलब्ध गराउनेछ। कोटेश्वर इन्टरसेक्सन सुधारका लागि आवश्यक रकम जाइकामार्फत सुनिश्चित भएको छ र सम्झौता सफलतापूर्वक भइसकेको अर्थमन्त्रालयले बतायो ।
सम्झौता अनुसार जाइकाबाट प्राप्त हुने ऋणको ग्रेस अवधि १० वर्ष, भुक्तानी अवधि ३० वर्ष र वार्षिक ब्याजदर ०.२ प्रतिशत रहनेछ।
परियोजनाअन्तर्गत कोटेश्वर र जडीबुटी क्षेत्रमा अन्डरपास र फ्लाइओभर निर्माण गरिनेछ। यसले काठमाडौं उपत्यका तथा बीपी राजमार्गमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनको यातायात सहज बनाउने, विशेषगरी कोटेश्वर क्षेत्रमा बढ्दो जाम कम गर्ने महत्वपूर्ण भूमिका खेलेने अपेक्षा गरिएको छ।
यो आयोजना भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मातहत रहेको सडक विभागमार्फत कार्यान्वयन गरिनेछ।